रामधुनी । सुनसरीको इटहरीमा वेलकम परियोजना अन्तर्गत अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को सहकार्यमा कथा नेपालले मिडियाकर्मीहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार इटहरीमा वैदेशिक रोजगारबाट फर्किएका वा वैदेशिक रोजगारमा गएर पीडितले झेल्नुपरेको समस्याहरुमा संचारकर्मीहरुले खेल्ने भूमिका विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सुनसरी वैदेशिक रोजगार सघंका अध्यक्ष दुर्गा थापा, नेपाल टुरिजम वोर्डका कार्यकारी सदस्य कृष्ण शाह, इटहरी उपमहानगरपालिका सामाजिक शाखा अधिकृत शुशीला कार्की र नेपाल पत्रकार महासघं केन्द्रिय सदस्य अमर खड्काले मिडियाले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो भनाई राखेका थिए ।
अन्तराष्ट्रिय श्रम संगठन आइएलओको सहकार्यमा विभिन्न अन्तर्राष्ट्रिय संस्थाको संयोजनमा कार्यक्रम गरिएको थियो ।
यो परियोजना प्रदेश १ का मोरङ्ग, सुनसरी र झापामा संचालन भइरहेको अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)का परियोजना सयोंजक तारा प्रसाद बरखरियाले जानकारी दिए ।
यस परियोजना अन्तर्गत स्थानिय तहलाई थप जिम्मेवार बनाएर क्षमता अभिवृद्धि गराउँदै वैदेशिक रोजगारीबाट नेपाल फर्किएकाहरुलाई नेपालमै पुनः एकिकरण गराउनकालागि पब्लिक प्राइभेट डाइलग सार्वजनिक निजी संवाद तथ्यांक संकलन तथा अभिलेख राख्ने, स्थानिय तहमा पुनःएकिकरणको कमिटी गठन र पूनःएकिकरणको निति निर्माण, करिअर परामर्श, व्यवसाहिक परामर्श, सीपमुलक तालिम, सिप प्रमाणिकरण, करिअर मेलाहरु, रोजगार मेलाहरु, क्षमता विकाश जस्ता कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष बरखरियाले जानकारी दिए ।
वैदेशिक रोजगारबाट अवशर गुमाएर नेपाल फर्किएकाहरुको लागि आर्थिक पुनःएकिकरणका लागि उनिहरुको रोजगारी दक्षता अभिवृद्धि गर्ने, रोजगारीमा रुचि राख्नेहरुकालागि सीप अभिवृद्धि तालिम र सिप प्रमाणिकरण गरी विदेशबाट फर्किएकाहरुलाई उपयूक्त रोजगारीका लागी योग्य बनाउने यस परियोजनाको मुख्य उद्देश्य रहेको उनले जानकारी दिए ।
त्यस्तै कार्यक्रमा वैदेशिक रोजगारीकालागी यू.ए.ई.मा रोजगारीका लागि गएका इटहरीका दीपेन्द्र घिमिरे चार वर्षदेखि दुबईमा अलपत्र अवश्थामा रहेको भन्दै उनका भाई सुरेन्द्र घिमिरेले सबैमा नेपाल फर्काउनका लागि मद्दत गर्न अनुरोध गरे । दुतावाससँग सहयोगका लागि कुरा गर्दा दुतावासले काम भइरहेको छ भन्ने मात्र जवाफ दिने गरेको र दुतावासदेखि सबै नेता, निकाय र संस्था गुहारिसकेपछि पनि काम नभएको घिमिरेले बताए ।
कमाइ गरेर घरमा खर्च पठाउनुपर्ने समयमा उल्टो घरबाट पैसा मगाएर लुकेर बस्नु परेको उनको गुनासो छ । कम्पनिले पासपोर्ट खोसेर राखेको छ भने विगो दावीसहित मुद्धा हालेको छ । मुद्धा मिलाउन २५ हजार दिराम माग गरेको समेत घिमिरेले जानकारी गराए ।
दुतावासले चासो दिएर सकारात्मक भुमिका निर्वाह गरिदिए समस्या समाधान हुने, नभए बिगो बराबरको रकम तिर्नको लागि ८ देखि ९ लाख रुपैयाको जोहो गर्नुपर्ने अवस्था रहेको भन्दै उनले सबैले सहयोग गर्न माग गरे ।
यता सुनसरी वैदेशिक रोजगार सघंका अध्यक्ष दुर्गा थापाले यस विषयमा आफुले सहयोग गर्ने बताए ।

