लेटाङ । मोरङको लेटाङ नगरपालिकाले दोश्रो स्थानीय तह निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको सुरुवाती सय दिनको कार्य प्रगति सार्वजनिक गरेको छ ।
नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि आर्थिक वर्ष ०७९/०८० को बजेट नीति तथा कार्यक्रमको पुस्तिका सार्वजनिक गर्नुका साथै नगरपालिकामा नयाँ जनप्रतिनिधि आएपछि भएका महत्वपूर्ण कामहरु बारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा नगर प्रमुख भूपेन्द्र कुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले बजेट पुस्तिका सार्वजनिक गर्नुका साथै नगरपालिकामा नयाँ नेतृत्व आएपछि भएका महत्वपूर्ण र नयाँ कामहरु बारे जानकारी गराउनुभयो । पत्रकार सम्मेलनमा जानकारी गराइए अनुशार लेटाङ नगरपालिकाका जनप्रतिनिधिहरुको सुरुवाती सय दिनलाई यसरी प्रस्तुत गर्न सकिन्छ ।
१.विपत् जोखिमको पूर्वतयारी
लेटाङ नगरपालिकामा दोश्रो स्थानीय तहको निर्वाचनबाट नयाँ नेतृत्व आएसँगै गरिएको नयाँ र महत्वपूर्ण काममध्ये विपद् जोखिम नियन्त्रणको पूर्वतयारी पनि एक हो । बाढीले क्षति पुर्याएपछि मर्मत र रोकथामको प्रयास गर्ने परिपाटिको अन्त्य गर्दै यसपटक नगरपालिकाले वर्षायाम सुरु हुनु भन्दा अघि नै विपत्को पूर्व तयारी गरेको थियो । खासगरि चिसाङ खोलको कटानको जोखिममा रहेका ठाउँहरुमा वर्षा सुरु हुनु अघि नै अनुगमन गरि तारजाली लगाएर रोकथाम गरियो । वडा नम्बर १ को बगुवा, ६ को लामीटार र वडा नम्बर ३ मा जोखिम रहेको क्षेत्रमा जोखिम नियन्त्रण गरिएको हो । जसका कारण पनि यसपटक बाढीबाट ठूलो क्षति भएको छैन ।
२. खोला उत्खनन्को नियमन र नियन्त्रण
अघिल्ला वर्षहरुमा लेटाङ नगरपालिकामा रहेका चिसाङ, तेली र मोरङ्गी खोलामा खोला ठेक्का लगाएपछि के कति उत्खनन् भयो भन्ने नापचाँज गर्ने परिपाटी थिएन । असार नलागेसम्म निरन्तर खोला उत्खनन् हुने गरेको थियो । तर यसवर्ष त्यसलाई नियन्त्रण गरिएको छ । नयाँ नेतृत्व आएसँगै उत्खनन् क्षेत्रको नापजाँच गरि सम्झौता भन्दा बढी उत्खनन् गरिएको पाइएपछि त्यसमा तत्काल रोक लगाइएको थियो ।
३. क्षतिग्रस्त सडकको तत्काल मर्मत
लेटाङका पहाडी वडाहरुमा जाने सडकमा वर्षायाममा बाढी र पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुने गरेकोमा यसवर्ष अवरुद्ध भएका सडकहरु तत्काल सुचारु गरेर सहजता ल्याउने काम भएको छ । खासगरि लेटाङ ७ को समला र वारांगी जाने सडक अवरुद्ध हुँदा तत्काल अवरोध हटाएर सडक सुचारु गरिएको छ । यस्तै हरेक वर्ष हिलोका कारण अवरुद्ध हुने राजारानी आरूबोटे सडकको समस्याग्रस्त ठाउँमा नगरपालिकाको सहयोग र स्थानीयबासीको श्रमदानमा ढुंगा ओछ्याएर सहज बनाइएको छ । यसैगरि लेटाङ क्याम्पस अगाडीको बाटो विग्रिएका कारण विद्यार्थीहरुलाई आवत जावतमा समस्या भइरहेको बेला सो सडकमा उच्चस्तरीय ग्रावेल सम्पन्न गरिएको छ ।
४.वडाबाटै प्राविधिक सेवा सुरु
नगरपालिकाले नगरवासीको सहजताका लागि अर्को महत्वपूर्ण काम गरेको छ । वडामा हुने विभिन्न पूर्वाधार निर्माणका काम गर्न दर्जनौ पटक नगरपालिका धाउनु पर्ने नगरवासीको बाध्यता हटाउन नगरमा केन्द्रित हुँदै आएका प्राविधिकहरुलाई वडा वडामा खटाएर सहजता ल्याउने काम गरिएको छ ।
५. बथाहामा विजुली बल्यो, मलिबासेमा तयारी
लेटाङ नगरपालिकाको वडा नम्बर १ बथाहामा अवश्यक बजेट विनियोजन गरि विजुली वत्ति बाल्ने काम भएको छ । यतिका वर्षसम्म विजुली नपुगेको बथाहमा नयाँ नेतृत्व आएको ३ महिनामै बिजुली बालिएको हो । यसैगरि वडा नम्बर ७ को मलिबासे क्षेत्रमा पनि विद्युतीकरणको काम सुरु गरिएको छ । यस क्षेत्रमा पनि दशैं अघि नै विद्युतिकरणको काम सक्ने नगरपालिकाको योजना छ ।
६. मदन भण्डारी राजमार्गको काम सुचारु
लेटाङ नगरपालिका हुँदै पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्गको काम रोकिएकोमा नगरपालिकाले आवश्यक सहजिकरण गरेपछि काम सुरु भएको छ । नगरका विभिन्न ठाउँमा देखिएका समस्या समाधानमा समन्वय गर्ने तथा निर्माण कार्यको गुणस्तरीयताको अनुगमन समेत गरिएको छ । नगरको नेतृत्वमा सर्वदलिय अनुगमन गरि कामलाई गती प्रदान गरिएको हो ।
७. नगर अस्पताल निर्माणको तयारी
लेटाङ ३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालमा रुपान्तरण गर्ने काम सुरु गरिएको छ । जहाँ १५ वेडको अस्पताल निर्माण गर्ने उद्देश्यका साथ आवश्यक सामाग्रीहरु खरिद प्रकृया सुरु गरिएको छ भने संघीय सरकारसँग आवश्यक जनशक्तिको माग गरिएको छ ।
८. स्वास्थ्य विमा कार्यक्रममा देखिएको असहजता हटाउनका लागि स्वास्थ्य विमा वोर्ड गठन गरिएको छ ।
९.वडामा दामासाहीले बजेट विनियोजन गर्ने कार्यको अन्त्य
लेटाङ नगर प्रमुख भूपेन्द्र कुमार लावतीले निर्वाचन अघि भएका चुनावी सभाहरुमा दामासाहीले बजेट बाँड्ने कार्यको अन्त्य गर्ने विषयलाई निकै महत्वका साथ उठाउनु भएको थियो । सोही कुरालाई मध्यनजगर गर्दै चालु आर्थिक वर्षदेखि निश्चित मापदण्ड तय गरि सोही अनुरुप बजेट विनियोजन गरिएको छ । यसअघि सबै वडालाई एउटै आकारको बजेट छुट्याउने गरिएकोमा यसवर्षदेखि भूगोल, जनसंख्या लगायतका पक्षलाई ध्यानमा राखेर सोही अनुशार फरक फरक आकारमा बजेट छुट्याइएको हो ।
१०. कार्य सम्पादन मूल्यांकनलाई प्राथमिकता
नगरपालिकाले जनचाहना, जनअपेक्षा र चुनावी घोषणापत्रहरुलाई अधिक सम्बोधन गर्दै निर्धारित समयमै आर्थिक वर्ष ०७९/०८० को बजेट प्रस्तुत गरेको छ । सरोकारवाला पक्षहरुसँग लामो छलफल गरि स्थानीय सरकार सञ्चालन ऐनमा तोकिए अनुशारको विधि प्रयोग गरि समयमै बजेट सार्वजनिक गरिएकाले त्यसबाट कार्य सम्पादन मूल्यांकनमा सकरात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । यस बाहेक अन्य विषयहरुमा पनि ऐन, कानुन, नीति, नियमलाई ध्यानमा राखेर कार्यक्रमहरु सञ्चालन गर्ने कुरालाई नगरपालिकाले प्राथमिकतामा राखेको छ ।
११. चार नम्बर वडा कार्यालयको सेवा आफ्नै प्रशासनीक भवनबाट सुरु
लेटाङ नगरपालिकामा पहिलो पटक वडा कार्यालयको नयाँ प्रशासनीक भवन निर्माण गरि सेवा सुरु गरिएको छ । लेटाङ नगरपालिका वडा नम्बर ४ को प्रशासनीक भवन अघिल्लो कार्यकालमै निर्माण सुरु गरिएको भएपनि पूर्णता नपाएको अवस्थामा नयाँ नेतृत्व आएसँगै आवश्यक बजेट व्यवस्थापन गरि भवनलाई पूर्णता दिएर सेवा समेत सुरु गरिएको हो ।
१२. वडावासीको सहजताका लागि वडा कार्यालयको अगुवाईमा वडा नम्बर १ र ३ मा विभिन्न सेवासहितको घुम्ति शिविर सञ्चालन गरिएको छ ।
१३. नगरपालिकाले कृषि र पशुपालनलाई प्राथमिकतामा राख्दै कृषि प्रयोगशाला र भेटनरी अस्पताल सञ्चालनको काम पनि अघि बढाएको छ ।
१४. नगरका वंगुपालक कृषकहरुको समस्या सामाधानमा पहल गर्ने उद्देश्यका साथ वंगुरका खोससम्मै पुगेर कृषकहरुसँग उनीहरुको समस्या पहिचान गर्ने र सामाधनका उपय खोज्ने प्रयास गरिएको छ ।
१५. बाढीले क्षति पुर्याएका पैनीहरुको मर्मत
बाढीले क्षति पुर्याएका तेली खोला, चिसाङ खोला र भलुवा खोलाबाट सञ्चालित पैनीका मुहानहरुलाई व्यवस्थित गरि तत्कालका लागि सहजरुपमा सिंचाइको प्रवन्ध मिलाइएको छ ।
१६. वडा नम्बर ७ को समला टोलमा खानेपानी आयोजना सञ्चालनका लागि काम सुरु गरिएको छ ।
१७. लेटाङ नगरपालिका वडा नम्बर ४ को वसपार्क क्षेत्रदेखि वडा कार्यालय हुँदै मिलनचोकसम्म जाने सडक कालोपत्रे गर्ने काम अघि बढाइएको छ ।
१८. लेटाङ ६ गुवाबारीबाट भुवा खोलासम्मको सडक स्तरोन्नती गर्ने काम सुरु गरिएको छ ।
१९. यसअघि नै निर्माण सुरु भएर रोकिएका हाटखोलको टहरा निर्माण, कोल्डस्टोर निर्माण, नगर अस्पताल निर्माण, विरनको सडक कालोपत्रे, खेरुवा खोला पुल निर्माण लगायतका काम अघि बढाउन ठेकेदारलाई निर्देशन दिने काम भएको छ ।
२०. बालिका बचत कार्यक्रम सञ्चालन गर्ने चुनावी प्रतिवद्धता पुरा
नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले गत स्थानीय तह निर्वाचनमा तयार पारेको प्रतिवद्धतापत्रमा महत्वका साथ उठाएको एउटा विषय बालिका बचत कार्यक्रम पनि हो । खासगरि नगरको पहाडी क्षेत्रका वडामा चुनावी सभा गरिरहँदा नगर प्रमुख लावतीले पटक पटक बालिका बचत कार्यक्रम सञ्चालन गर्नेछौं भनि भाषण गर्नु भएको थियो । सोही वाचा पुरा गर्दै यतिबेला नगरपालिकाले बालिका बचत कार्यक्रम सञ्चालनमा ल्याएको छ । बालिका वचत कार्यक्रम अन्तरगत नगरपालिकाका पहाडी भूगोल भएका वडामा अब जन्मिएका बालिकाहरुको नाममा बैंक खाता खोलेर नगरपालिकाले १६ वर्षसम्म प्रत्येक वर्ष २ हजार रुपैयाँका दरले रकम जम्मा गरिदिने जनाइएको छ । यसरी नगरपालिकाले जम्मा गरिदिएको रकममा अभिभावकले पनि रकम थप गर्न सक्नेछन् भने सो रकम बालिकाले एसइइ उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने समयमा मात्र निकाल्न पाइउनेछन् । यसबाट नगरको पहाडी वडाका बालिकाहरुले बीचैमा पढाइ छाड्ने समस्या समाधान हुने तथा आर्थिक अभावका कारण एसइइ पछिको अध्ययन पुरा गर्न समस्या भएका बालिकाहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसबाट बालविवाह न्यूनिकरणमा पनि सहयोग पुग्ने अपेक्षा छ ।
२१. लिम्बू भाषा पठनपाठनको तयारी, स्थानीय पाठ्यक्रम अध्यापन सुरु
नगर प्रमुख भूपेन्द्र कुमार लावतीले चुनावी प्रतिवद्धतामा लिम्बूभाषी बाहुल्य क्षेत्रका विद्यालयमा लिम्बू भाषाको अध्यापन गर्ने कुरालाई पनि प्राथमिकताका साथ उठान गर्नु भएको थियो । सोही बमोजिम लेटाङ नगरपालिकाले लिम्बू भाषा पठनपाठन गराउने उद्देश्यका साथ पाठ्यक्रम निर्माणको काम सुरु गरेको छ । यस्तै चुनावी प्रतिवद्धता अनुशार नै विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अध्यापन सुरु गरिएको छ । बालबालिकाहरु आफे ठाउँ र संस्कृति बारे अनविज्ञ नहोउन् र आफ्नो ठाउँको प्रचार प्रसार होस् भन्ने उद्देश्यका साथ लेटाङ नगरपालिको स्थानीय पठ्याक्रम निर्माण गरि सबै विद्यालयमा पठन पाठन सुरु गरिएको हो ।
२२. पदभारग्रहण गर्दाको निर्णय कार्यान्वयन
नगर प्रमुख भूपेन्द्र कुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले गत जेठ ९ गते पदभारग्रहण गर्दै गर्दा नगर क्षेत्र भित्रका अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था गर्ने निर्णय गरिएको थियो । पदभारग्रहण गर्दाको सो निर्णयलाई लेटाङ नगरपालिकाले सुरुवाती सय दिन भित्रै कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको छ । सरकारले विद्यालय शिक्षा निःशुल्क भनेपनि सो कुरा पूर्णरुपमा कार्यान्वयनमा नआएको अवस्थामा अभिभावकबिहीन बालबालिकाहरु आर्थिक अभावका कारण शिक्षाको उज्याले ज्योतिबाट बञ्चित नहुन् भनेर सो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।
२३. पर्यटन विकासका लागि सडक सौन्दर्यकरण
लेटाङ नगरपालिकाको प्रवेश द्वारको रुपमा रहेको लेटाङ कानेपोखरी सडकको गंगेचौकदेखि दक्षिण जंगलतर्फ सडक फराकिलो बनाएर १ किलोमिटर क्षेत्रमा सौन्दर्यकरणको काम सम्पन्न भएको गरेको छ । यसअघि फोहोर फाल्ने गरिएको सो क्षेत्रमा विभिन्न आकर्षक प्रजातीका फूल फूल्ने रुखका विरुवा रोपेर सौन्दर्यकरणको काम सुरु गरिएको जनाइएको छ । नगरपालिकाले सडक फराकिलो बनाउने, विरुवा खरिद गर्ने र विरुवा संरक्षणका लागि तारजाली खरिद गर्ने काम गरेकोमा झाडी फाँड्ने, विरुवाको हेरचाह र गोडमेल गर्ने विषयमा स्थानीय सामुदायीक वनहरुले जिम्मेवारी लिएर काम गरिरहेका छन् । यसरी रोपिएका सबै विरुवाहरुमा फूल फूलेपश्चात लेटाङ नगरपालिकाको प्रवेश मार्ग एउटा आकर्षक पर्यटकीयस्थलको रुपमा विकास हुने अपेक्षा गरिएको छ । नगरपालिको नेतृत्वमा प्रवेश मार्गमा सौन्दर्यकरणको काम सुरु गरेसँगै सो कार्यबाट प्रभावित भएर लेटाङ ४ र २ मा समेत स्थानीयवासीहरु स्वतस्फूर्तरुपमा सौन्दर्यकरणको काममा जुटेका छन् ।
२४. पर्यटन विकासकाकालगि पदमार्ग निर्माण
लेटाङ नगरपालिकाले सुरुवाती सय दिनमा गरेको अर्को महत्वपूर्ण काम लोखरादेखि राजारानीसम्मको पदमार्ग निर्माणको काम पनि हो । लेटाङकै प्रमुख पर्यटकीयस्थलको रुपमा रहेको राजारानी क्षेत्रमा जाने पुरानो पैदल मार्गलाई सफाइ गरि आकर्षक पर्यटकीय पदमार्ग निर्माणको काम सुरु गरिएको हो । लेटाङ नगरपालिकाको आग्रहमा स्थानीयवासीको स्वतस्फूर्त सहभागितामा पदमार्गको झाडी फाँडेर सरसफाई गर्ने काम सम्पन्न भएकाले अब त्यस ठाउँमा नगरपालिकाले थप सौन्दर्यकरणको काम गर्ने जनाइएको छ ।
२५. गुराँस संरक्षण र पर्यटन प्रवर्धन
लेटाङ नगरपालिकाको वडा नम्बर ७ मा गुराँस संरक्षण तथा पर्यटकीय क्षेत्र विकासको काम पनि नगरपालिकाको आग्रहमा वडा र स्थानीयवासीको सहभागितामा सुरु गरिएको छ । गुराँसको जंगल रहेको सो क्षेत्रमा स्थानीयवासीको सहभागितामा गुराँसको थप वृक्षारोपण गरिएको छ । अब अन्य संरचनाहरु समेत बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने गरि नगरपालिकाले काम सुरु गरेको जनाइएको छ ।
२६. सामाजिक काममा जनसहभागिताको लहर
सानो लगानीमै जनसहभागिता जुटाएर उल्लेख्य काम गर्न सकिने भएकाले जनसहभागिता हुने कामहरुलाई प्राथमिकता दिने गरिएको नगरपालिकाले जनाएको छ । लेटाङ कानेपोखरी सडक सौन्दर्यकरण, वडा नम्बर ४ को बाल उद्यान तथा सडकहरुको सरसफाई तथा वृक्षारोपण, वडा नम्बर २ को प्रवेश मार्ग सौन्दर्यकरण, राजारानी पदमार्ग निर्माण, लेटाङ ७ को गुराँस संरक्षण कार्यक्रम, लेटाङ ३ का विभिन्न ठाउँमा पटक पटक भएका सरसफाई लगायतका कार्यक्रमहरुमा जनताको स्वतस्फूर्त सहभागिता रहेको थियो । यसरी नगरपालिकाले नगरका हरेक गतिविधिमा जनतालाई अपनत्व प्रदान गर्न उनीहरुको सहभागिता गराउने र त्यस्ता काममा लगानी समेत गर्ने गरि काम गरिरहेको छ ।
२७. लेटाङ १ को कात्र्तिके नजिकै रहेको झाँक्री गुफा क्षेत्रलाई पनि पर्यटकीय स्थलको रुपमा विकास गर्नका लागि जग्गा प्राप्तिको काम अघि बढेको छ ।
२८. लेटाङ नगरपालिकाले नगर क्षेत्र भित्रका मुख्य सडकमा जथाभावी रुपमा सामाग्रीहरु हटाउने काम पनि सुरु गरेको छ । नगरले २ पटकसम्म सामाग्री हटाउने सूचना जारी गरेर काम थालेको छ ।
२९. सम्मान तथा पुरस्कार प्रदान
लेटाङ नगरपालिकाले लेटाङ नगरपालिका भित्रका प्रतिभाहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने काम गरेको छ । देशकै चर्चित मूर्तिकार लेटाङ २ निवासी नवीन सुवेदी र हिपहप संगीतको रियालीटी सोका बिजेता भाइबर साइमनलाई सम्मान गर्दै हौसला प्रदान गर्ने काम गरेको छ । यस्तै लेटाङ २ स्थित लक्ष्मी माध्यमिक विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा छनौट गरि नगद २ लाख पुरस्कार प्रदान गरिएको छ । यसैगरि नगरको नियमित कार्यक्रम अन्तरगत लेटाङ नगरपालिका भरीबाट उत्कृष्ट कृषक छनौट गरी पुरस्कृत गरिएको छ ।
३०. यसअघि नगरबाट हुँदै आएको कृषि औजार वितरणको काम वडाबाट सुरु गरिएको छ ।
३१. शवबाहन सञ्चालन
लेटाङ नगरपालिकाले भर्खरै शव वहान सन्चालनमा ल्याएको छ । घरदेखि घाटसम्म निःशुल्क सेवा दिने उद्देश्यले शववहान खरिद गरि सञ्चालन सम्बन्धि कार्यविधि बनाएर सेवा सुरु गरिएको हो ।
३२. अपांगता भएका नागरिकहरुलाई ह्विलचियर लगायतका सहायता सामाग्री वितरण गरिएको छ ।
३३. बाढी पीडिहरुलाई राहत वितरण गरिएको छ ।
३४. आर्थिक रूपमा विपन्न नागरिकलाई औषधी उपचार तथा अध्ययन खर्च र खाद्यान्न उपलब्ध गराउने काम भएको छ ।
३५. नगरवासीमा सूचनाको हकको प्रत्याभूति दिलाउन नगरपालिका बाहीर डिजिटल सूचना बोर्ड राखिएको छ ।
३६ नगरको न्याय समिति अन्तरगत विभिन्न वडामा रहेका मेलमिलापकर्ताहरुको क्षमता अभिवृद्धिका लागि अभिभुखिकरण कार्यक्रम पनि सम्पन्न गरिएको छ ।
३७. ऐन, नियमावली र कार्यविधि निर्माण तथा संशोधन
नगरपालिकाका विभिन्न कार्यक्रमहरु अघि बढाउन त्यससम्बन्धि ऐन, नियमावली र कार्यविधिहरु निर्माण तथा संशोधन गरेको छ । खेलकुद विकास ऐन २०७९, लेटाङ नगरपालिका शव वाहन सञ्चालन कार्यविधी २०७९, लेटाङ नगरपालिका स्वास्थ्य विमा संयोजन समिति गठन सञ्चालन कार्यविधी २०७९, लेटाङ नगरपालिकाको विपद् व्यवस्थापन कोष सञ्चालन नियमावली, लामो समयसम्म श्रीमानसँग अलग भएका विपन्न महिलाहरुको जीवनस्तर अभिवृद्धि कार्यक्रम कार्यविधि, आमाबाबु विहिन बालबालिकाहरुलाई निःशुल्क शिक्षा कार्यान्वयन कार्यविधि र बालिका शिक्षा कार्यविधि निर्माण गरिएको छ । यस्तै लेटाङ नगरपालिका विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, लेटाङ नगरपालिका न्यायीक समिति ऐन र लेटाङ नगरपालिका शैक्षिक व्यवस्थापन कार्यविधि संशोधन गर्ने काम गरिएको छ ।
३८. भूमिहिन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीको लगत संकलन गर्ने काम सम्पन्न भएको छ ।
चाँडै निश्सा वितरण लगायतका अन्य प्रकृया पनि अघि बढाइँदैछ ।
३९. गरिव घरपरिवार पहिचानको काम पनि सम्पन्न भएको छ ।
४०. जवाफदेहिता, मितव्ययिता र सुशासन
जनसरोकारका विषयमा तत्काल जवाफदेहिता प्रकट गरि आवश्यक समन्वय गर्ने परिपाटीको विकास भएको छ भने सुशासन, मितव्ययीता र पारदर्शीतालाई प्राथमिकतामा राखिएको छ ।

















