काठमाडौं । गृह मन्त्रालयले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोट गर्नेबारे मापदण्ड स्वीकृत गरेको छ । यस अघि प्रहरी प्रधान कार्यालयले मापदण्ड तयार गरेर स्वीकृतीका लागि गृह मन्त्रालयमा पठाएको थियो ।
सोमबार मन्त्रालयले कार्यविधि स्वीकृत गरेको प्रहरी प्रवक्ता डीआईजी टेक प्रसाद राईले जानकारी दिए । स्वीकृत कार्यविधि अनुसार प्रहरी प्रधान कार्यालयले भदौ २६ गते पत्रिकामा सूचना प्रकाशन गर्ने भएको छ । भदौ ३० देखि असोज ६ गते सम्म आवेदन दिन सक्ने गरि कार्यविधि स्वीकृत भएको डीआईजी राईले जानकारी दिए।
कार्यविधि अनुसार असोज ९ गतेदेखि १४ गते सम्म छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ । म्यादी प्रहरीको नतिजा असोज २५ गते प्रकाशन हुने छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा खटेका म्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिनेगरी कार्यबिधि पारित गरिएको छ । गत निर्वाचनमा खटिँदा रेकर्ड राम्रो भएकाहरुले तालिम र परीक्षामा पनि सहुलियत पाउने भएका छन् ।
अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई स्विकृती दिएको छ । म्यादीको कार्यवधी ४० दिनको हुनेछ ।

















