रामधुनी । त्रियुगा नगरपालिका वडा नम्बर ११ र १२ को गाईघाट बजार क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु भएको छ ।
सङ्घीय राजधानी काठमाण्डौ महानगरपालिका सहित देशका विभिन्न नगरपालिकामा सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउने कार्य सुरु भएसँगै गाईघाट बजारमा पनि नक्सा पास विपरीत सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर, टहरा तथा संरचना हटाउने कार्य सुरु गरिएको मेयर वसन्तकुमार बस्नेतले बताए ।
सडक अतिक्रमण गरेर निर्माण गरिएका संरचनालाई नगरपालिकाका इन्जिनियरको प्रत्यक्ष उपस्थिति र नक्सा जाँच गरी हटाउने कार्य सुरु भएको उनले बताए । गाईघाटमा रहेको त्रियुगा बसपार्क क्षेत्रबाट गाईघाट डीएमगेट हुँदै त्रियुगा नमुना माविको पछाडिको सडक खण्डदेखि लोकतान्त्रिक चोकसम्मको सडक क्षेत्र र गाईघाट सेतो पुल हुँदै मदन भण्डारी मार्गअन्तर्गत पुरानो गाईघाटमा रहेको पीजी चोक तथा बरुवा बसपार्क क्षेत्रसम्मको झन्डै चार किलो मिटर चौडाइ र पाँच किलोमिटर लम्बाइका बजार क्षेत्रका अवैध घर टहरा संरचना हटाउन दुइहप्ता अगाडि नै सूचना जारी गरिएको नगरपालिकाकी उपमेयर महेश्वरी राईले बताइन् ।
सूचना जारी गरेर दिइएको समयावधि समाप्त भइसकेका कारण संरचना हटाउन सुरु गरिएको नगरपालिकाले जनाएको छ । लामो समयदेखि गाईघाट बजारको ट्राफिक चोकदेखि पुरानो गाईघाटका पीजी चोकसम्मको दाँयाबाँया सडक खण्ड अतिक्रमण गरेर बसेका तरकारी व्यापारी तथा फलफूल व्यापारीलाई हटाउने कार्य सम्पन्न भएको बताइएको छ ।

