विराटनगर । प्रदेश नं. १ बाट सरुवा भएका प्रमुख सचिव डा. रामप्रसाद घिमिरेको बिदाइ गरिएको छ । बुधबार प्रदेश नंं. १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एक कार्यक्रम गद मुख्यमन्त्री राजेन्द्रकुमार राईले सचिव घिमिरेको बिदाइ गरेका हुन् ।
विदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सचिव घिमिरेसँग छोटो समयमात्रै सहकार्य गर्न पाएको उल्लेख गरे । छोटो समयको सहकार्य भए पनि उनले राम्रो छाप छोडेको अनुभव मुख्यमन्त्री राईले सनाएका थिए । मुख्यमन्त्री राईले सचिव घिमिरेमा भद्रता, शालीनताजस्ता केही लोभलाग्दा गुण आफूले पाएको उल्लेख गरेका थिए । ‘सचिव घिमिरे विषय विज्ञका रुपमा पूर्ण हुनुहुन्छ’ मुख्यमन्त्री राईले भने ।
यस्तै, बिदाइ भएका सचिव घिमिरेले प्रदेश नं. १ मा कार्यरत रहँदा आफूले सबै क्षेत्रबाट सहयोग पाएको बताए । उनले निजामती प्रशासन सँधै सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने उल्लेख गरे ।
सचिव घिमिरे प्रदेश नं. १ बाट सरुवा भई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय गएका छन् । उनको बिदाइ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरू, कर्मचारी, मुख्यमन्त्रीका सल्लाहकारहरूलगायतको उपस्थिति रहेको थियो ।

















