ताप्लेजुङ । पहिरो पीडितको अवस्था बुझ्न र राहत सामग्री उपलब्ध गराउन प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की नेतृत्वको सरकारी टोली ताप्लेजुङ पुगेको छ । नेपाली सेनाको हेलिकप्टरबाट सुरक्षा अधिकारी सहितको उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगाम आइतबार अपरान्ह ताप्लेजुङ पुगेका हुन ।
असार २ गते श्रीजंगा गाउँपालिका वडा नम्बर ८ को खेवाङमा गएको पहिरोमा पुरिएर स्थानीय तुलसा अधिकारी र यशोधा अधिकारीको मृत्यु भएको थियो । घटनामा घाइते विष्णु अधिकारीलाई सरकारले हेलिकोप्टरबाट उद्दार गरी विराटनगरको कोसी अस्पतालमा उपचार भईरहेको छ ।
घटनास्थलको प्रत्यक्ष निरीक्षण गर्न र पहिरोबाट विस्थापितहरुलाई प्रारम्भिक राहत उपलब्ध गराउन ताप्लेजुङ पुगेको आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले बताए ।
बाढीबाट गाउँपालिकामा अवस्थित विद्युत पावर हाउस बगाएको छ । फक्ताङ्लुङ गाउँपालिकामा पनि पहिरोले असर गरेको छ । ताप्लेजुङका अन्य भागमा पनि लगातारको वर्षापछि आएको पहिरोले असर गरेको छ । ताप्लेजुङको चाखु बस्तीमा ४० परिवार खानेपानीविहीन भएका छन् ।


















