बक्लौरी । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधरणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराएका छन् । डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि डाक्टरसहितको टोली गाउँ–गाउँमा पठाउँने व्यवस्था मिलाएका हुन् ।
शनिवार बाहेक हरेक दिन नोबेल अस्पतालबाट डाक्टरसहितको टोली सो क्षेत्रमा पुग्ने व्यवस्था मिलाइएको शर्माले बताए । विरामीहरुलाई टोल–टोलमा भेला गरी डाक्टरहरुले उपचार गर्ने गरेका छन् । उपचार बापत विरामीले कुनै शुल्क तिर्नु नपर्ने शर्माले बताए । गरीबीका कारण पैसाको अभावमा कुनैपनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस भनेर गाउँमै उपचारको व्यवस्था मिलाइदिएको डा.शर्माले बताए । उनले भने, ‘म यही क्षेत्रको मान्छे हुँ, कतिपय मान्छेले पैसा नभएर रोग पालेर बसिरहेका हुन्छन्, आफ्नो ठाउँका मान्छेलाई आफुले सकेको सहयोग गरौं भनेर टोल–टोलमै डाक्टर पठाएर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएको हुँ ।’
डा.शर्माको योजना अनरुप नोबेलका बिशेषज्ञ डाक्टरसहितको टोली एम्बुलेन्स लिएर टोल–टोल पुग्ने गरेका छन् । भिडियो एक्सरे, इसीजी, ल्याब टेष्टस सहितको सेवा दिइरहेको डा. शर्माले बताए । सामान्य विरामीहरुलाई गाउँमै उपचार गर्ने र गम्भीर अवस्थामा विरामीलाई आफ्नै एम्बुलेन्समा राखेर नोबेल अस्पताल ल्याई उपचार गर्ने गरिएको अस्पतालका प्रवन्धक नारायण दाहालले बताए । डा.शर्माले गरिब, बिपन्न र असहायहरुलाई अस्पतालमा पनि निःशुल्क उपचारको व्यवस्था मिलाउँदै आएका छन् ।
गाउँघरमै बिशेषज्ञ डाक्टरबाट निःशुल्क उपचार सेवा पाउँदा सो क्षेत्रका सर्वसाधरण यतिवेला खुशि भएका छन् । उनीहरुले डा.शर्माको सेवा भावको प्रशंसा गर्ने गरेका छन् । समाजसेवाका क्षेत्र उदाहरणीय व्यक्तिको पहिचान बनाएका डा.शर्माले यसअघि पनि सयौं गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराईसकेका छन् ।

















