बक्लौरी । सुनसरीको रामधुनी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । बिहिबार रामधुनी नगरपालिका वडा नम्बर ३ मा नवनिर्मित नगरपालिकाको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया सञ्चालन गर्न सहज हुने रामधुनी नगरपालिकाका निर्वाचन अधिकृत बिजयराज सुबेदीले बताए । निर्वाचन आयोगले उम्मेदवारको मनोनयनको लागि आगामी वैशाख ११ र १२ गते तोकेकोले बिहिबार बाट नै काम सुरु गरिएको सुवेदीले बताए ।
निर्वाचन आयोगले ११ र १२ उम्मेदवारको मनोनयन दर्ता, १३ गते उम्मेदवारमाथि उजुरी दर्ता, १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम अधि सारेको छ । उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणनालगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ ।
आयोगले उम्मेदवार मनोनयनपत्रको लागि आयोगले वडा सदस्यदेखि अध्यक्ष र प्रमुखको उम्मेदवारीका लागि धरौटी रकम समेत तोकेको छ । जसअनुसार स्थानीय तहको वडा सदस्य पदमा उम्मेदवारी दिनेले ५ सय रुपैयाँ धरौटी बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
त्यसै गरी वडा अध्यक्षका लागि १ हजार रुपैयाँ, गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकेको छ । नगर प्रमुख र उपप्रमुखको लागि पनि १ हजार ५ सय रुपैयाँ धरौटी रकम तोकिएको छ । आयोगले महिला, दलित वा अल्पसंख्यक समुदायका लागि भने धरौटीमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

















