धरान । गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले प्रदान गर्दै आएको वीर गोर्खा पत्रकारिता पुरस्कार यसपालि पत्रकार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई प्रदान गर्ने घोषणा गरेको छ । साथै गोर्खा नव प्रतिभा पत्रकारिता पुरस्कार भने धरानका पत्रकार पारस राईलाई प्रदान गर्ने भएको छ ।
वीर गोर्खा पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ। सुब्बा र सुबेदीलाई नगद २५ २५ हजार रूपमा प्रदान गर्ने गोर्खा कम्पनीले जनाएको छ । त्यस्तै गोर्खा नव प्रतिभा पुरस्कारको राशि २० हजार रुपैयाँ पत्रकार पारस राईलाई प्रदान गरिने कम्पनीले जनाएको छ ।
अग्रज महिला पत्रकार निलिफा बेलायती गोर्खा सेनाका लागि युकेबाट प्रसारण हुने वीएसबीएफ रेडियोमा आबद्ध छिन् । पत्रकार सुवेदी कान्तिपुर टेलिभिजनमा सुनसरीका टिभी रिपोर्टर रहेका छन् भने पारस राई विजयपुर एफएममा कार्यरत रहेका छन् । गोर्खा सैनिक भर्ती, पूर्व गोर्खाहरूबाट आर्थिक सामाजिक जीवनमा पारेको प्रभावका बारे रिपोर्टिङ गर्दै आएका पत्रकारहरूलाई उक्त पुरस्कार प्रदान गरिँदै आएको छ। । सोमबार धरानमा प्रत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीका प्रबन्ध निर्देशक प्रेमकुमार राईले पुरस्कृत हुने पत्रकारहरूको नाम घोषणा गरेका हुन्।
नेपाल प्रेस युनियनको सहकार्यमा पुरस्कृत पत्रकारहरूको चयन गरिएको कम्पनी सञ्चालक राईले पत्रकार सम्मेलनमा जानकारी दिए । युनियनका धरान नगर सभापति मातृका प्रसाद नेपाल, नेपाल पत्रकार महासङ्घ सुनसरीका सभापति जनकऋषि राई, पत्रकार हर्ष सुब्बाले चयन प्रक्रियामा सहयोग गर्दै आएको राईले बताए ।
यसअघि वीर गोर्खा पुरस्कार पत्रकार हर्ष सुब्बा र मनिता चाम्लिङलाई संयुक्त रूपमा प्रदान गरिएको थियो । नव प्रतिभा पुरस्कार सञ्चिता धमलाले प्राप्त गरेकी थिइन् । यसपालिको पुरस्कार साउन महिनामा कम्पनीमा तालिम लिईरहेका उत्कृष्ट प्रशिक्षार्थीहरू घोषणा र पुरस्कार वितरण समारोहमा प्रदान गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल महासङ्घका अध्यक्ष जनकऋषि राईले पुरस्कारले मुलुकको आर्थिक सामाजिक विकाशमा गोर्खा सैनिकको योगदानलाई पत्रकारिताको विधा बनाउन सघाउ पुर्याएको बताए । पत्रकार सम्मेलनमा बोल्दै धरानका अग्रज पत्रकार हर्ष सुब्बाले नेपालको आर्थिक गतिविधिमा रेमीट्यान्सको महत्त्वपूर्ण भूमिका रहँदै आएकाले पुरस्कारको विषयगत दायरा गोर्खा सैनिकका साथै पूर्वको आर्थिक, सामाजिक क्षेत्रमा वैदेशिक रोजगारीको योगदान सम्म बढाउन आग्रह गरेका छन् ।

















