विराटनगर । मोरङको लेटाङ घटना प्रकरणमा ज्यान गुमाएकी प्रहरी जवान उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलेको छ ।
विराटनगरस्थित कोशी अस्पतालले दिएको पोस्टमार्टम रिपोर्ट अनुसार श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलेको हो । रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायरआर्म इन्जुरी’ भनी उल्लेख छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाईएको अनुसन्धान प्रतिवेदनमा श्रेष्ठको शरीरबाट गोली निकालिएको उल्लेख रहेको छ ।
श्रेष्ठलाई लागेको गोली नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला परीक्षण गर्दा त्यो प्रहरीको हतियारबाट निस्केको गोलीसँग नमिलेको बताइएको छ ।
घटना भएको दिन प्रहरीको तीनवटा हतियारबाट फायर भएको खुलेपनि श्रेष्ठको शरीरमा भएको गोली प्रहरीको हतियारबाट चलेको पुष्टि हुन नसकेको जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बताए ।
मोरङ प्रहरीले गोली प्रदर्शनकारीबाटै चलेको आशङ्का गरेको छ । गत चैत्र ६ गते एक शिक्षकले विद्यार्थीमाथि दुर्व्यवहार गरेको घटनापछि हिंसा भड्कँदा भएको झडपमा २६ वर्षीय श्रेष्ठको मृत्यु भएको थियो । त्यतिबेला उनको धारिलो हतियार प्रहारबाट मृत्यु भएको बताइएको थियो ।


