इटहरी । पशुको बीमाका लागि अजोड इन्स्योरेन्स र सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघबीच सम्झौता भएको छ । प्रदेश १ मा रहेका कृषकहरूले पालका पशुको बिमाकालागी सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघका अध्यक्ष बाबुराम खत्री र अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सहकारी क्षेत्रको नयाँ मोडल अनुसार दूग्ध क्षेत्रको प्रवद्र्वनका निम्ति बीमा कार्यक्रमको अवधारण ल्याइएको सगरमाथा डेरीका अध्यक्ष खत्रीले बताए । विभिन्न सहकारी मिलेर ठूलो व्यवसायको मोडल अनुरुप यो अवधारणा ल्याइएको उनले बताए ।
किसानलाई दूध उत्पादनका निम्ति यस कार्यक्रमले सकारात्मक उर्जा प्रदान गर्नुका साथै ’कृषक लाभान्वित हुने उदेश्यले सहजीकरणको भूमिका निर्वाह गर्न आफुहरु लागि परेको उनले बताए ।
गाइबस्तुको कुल बीमा शुल्कमध्ये ८० प्रतिशत नेपाल सरकारले व्यहोर्नेछ र बाँकी २० प्रतिशत कृषकले व्यहोर्नेगरी बीमा कार्यक्रम ल्याइएको संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले बताए । कुल पाँच हजारमध्ये चारहजार रुपैँया सरकारले व्यहोर्ने र बाँकी एक हजार रुपैँया कृषकले व्यहोर्नेगरी पशुको बीमा हुने उनले बताए । प्रदेश १ भरीका सहकारीमा आवद्ध कृषकहरूको बीमा गरिने उनको भनाइ छ ।
बीमा गर्न सजिलो भएपनि बीमा दाबी गर्न गाह्रो छ भन्ने विचार त्यागेर बीमा गर्न अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक डोरीन्द्रराज दाहालले कृषकहरुलाई आग्रह गरेका छन् । उनले ग्रास लेभलका जनताले सुविधा पाउन् भन्ने उदेश्यले यो अवधारणा ल्याइएको बताए ।
यस्तै, कृषि तथा पशुपन्छी बीमा अभिकर्ता आधारभूत तालिम समेत आयोजना गरिएको छ । सहकारीका प्रतिनिधि र प्राविधिकहरूलाई तीनदिने तालिम आयोजना गरिएको हो ।

















