सुनसरी । सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलनजिकको जङ्गलमा लागेको आगोले सोमबार बिहान एक घण्टा उडान अवरुद्ध बनेको छ । विमानस्थलनजिकको नक्चुङ भन्ने ठाउँको जङ्गलमा भीषण आगलागी भएको छ । आगो सुरु भएर धुवाँ फैलिएपछि विमानस्थलको उडान प्रभावित बनेको हो ।
धुवाँका कारण नियमित उडान अवरुद्ध हुनुका साथै विमानस्थलको कामकारबाही पनि प्रभावित बनेको छ । नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावनमार्ग ढाकेपछि उडान सम्भव नहुँदा विमानस्थल नै बन्द गर्नु परेको जानकारी दिए । हावाले धुवाँ उडाएर अन्यत्र पुर्याएपछि विमानस्थल सुचारु भएको अछामीले बताए ।
प्रहरीका अनुसार खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ को नाक्चुङस्थित जङ्गलमा आइतबार रातिदेखि आगलागी सुरु भएको हो । आगो फैलने अवस्थामा रहेको र नियन्त्रणको प्रयास जारी राखिएको प्रहरीले जानकारी दिएको छ ।

















