काठमाण्डौ । भारतले नेपाललाई भारतीय २ हजार दरका नोट चलन चल्तीमा ल्याउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयमार्फत भारतले २ हजार दरका नोट चल्तीमा ल्याउन पटक पटक आग्रह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल आउनेहरुलाई समस्या परेको भन्दै भारतले आग्रह गरिरहेको हो । ‘भारतबाट नेपाल आउने पर्यटकले १ सयका नोट बोकेर आउँदा निकै झण्झट भइरहेको र परिमाण पनि धेरै हुने भएकाले बोक्न समस्या परेको भन्दै २ हजार रुपैयाँका नोट चलाइदिन भारतले आग्रह गरिरहेको छ’, नेपाल राष्ट्रबैंकका एकजना कार्यकारी निर्देशकले भने । तर नेपालले भने यहाँ रहेका पुराना १ हजार र ५ सय दरका नोट सटही नगरेसम्म २ हजार दरका नोट चलनमा ल्याउन नसकिने सर्त राखेको छ ।
नेपालमा बैंकहरुसँग भएका ७ करोड रुपैयाँ बराबरका भारतीय ५ सय र १ हजार दरका नोट साटेपछि मात्रै २ हजार दरका नोट चलाउनेबारे निर्णय गर्न सकिने जवाफ दिएको राष्ट्र बैंकका कार्यकारी निर्देशकले बताए । व्यक्तिहरुसँग भएका भारतीय ५ सय र १ हजार दरका नोट कति छन् भन्ने औपचारिक जानकारी नभए पनि बैंकहरुसँग भएका ७ करोड रुपैयाँ बराबरका नोट साट्न नेपालले पटक पटक आग्रह गरेको तर भारतले नमानेको राष्ट्र बैंकले जनाएको छ ।

















