दाङ । रेडपाण्डाको ५ थान छालासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रोल्पाको सुनिलस्मृति गाउँपालिका ७ का ३२ वर्षीय रामबहादुर थापा, लुङ्ग्री गाउँपालिका ३ का २० वर्षीय रूपक खड्का र सुनछहरी गाउँपालिका ७ का १९ वर्षीय रामकुमार पुन मगर रहेका छन्।
शुक्रबार बेलुकी ७ बजेतिर राप्ती गाउँपालिका १ भालुवाङ(प्यूठान सडक खण्डमा चेकजाँचका क्रममा रेडपाण्डाको छालासहित उनीहरूलाई पक्राउ गरिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।
हिमाली जिल्लाहरूबाट प्रतिबन्धित र दुर्लभ वन्यजन्तुको छाला निकासी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरूलाई पक्राउ गरेको काफ्लेले बताए। प्रहरीका अनुसार उनीहरूले रेडपाण्डको छाला दाङ हुँदै काठमाडौं लैजान खोजेका थिए।

















