रामधुनी । एमाले अध्यक्ष केपी शर्मा ओलीले ६ महिनादेखि उठाएका माग स्मरण गराउँदै ती माग पूरा नभएसम्म कुनै पनि संसदीय प्रक्रियामा प्रवेश नगर्ने बताएका छन् ।
मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भएको भेटवार्तामा अध्यक्ष ओलीले माग पूरा नभएसम्म कुनै पनि संसदीय प्रक्रियामा प्रवेश नगर्ने बताएका हुन् ।भेटवार्ताको क्रममा देउवाले सत्तारुढ दलहरूभित्रैबाट सरकारलाई असहयोग भएको भन्दै एमसिसी पास गर्न सघाउन आग्रह गरेका थिए । देउवाले ओली प्रधानमन्त्री भएकै वेला संसदमा दर्ता भएको एमसिसी अनुमोदनमा सहयोग गर्नु एमालेको दायित्व भएको बताएका थिए ।
ओलीसँगै भेटवार्ताका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल बालुवाटार पुुगेका थिए । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि भेटवार्तामा सहभागी भएका थिए । ‘एमसिसी संसदमा टेबुल गरेकै दिन भेट गर्ने भन्ने थियो । सडक आन्दोलनका कारण त्यो दिन भेट हुन नसकेपछि मंगलबार छलफल भएको हो । प्रधानमन्त्रीले एमसिसी अनुमोदन गराउन सघाउन आग्रह गरेका थिए ।
एमालेले पार्टीले निष्काशन गरेका १४ सांसदलाई कारबाही हुनुपर्ने माग गर्दै संसद् बैठकमा निरन्तर नाराबाजी गर्दै आइरहेको छ । एमालेले सभामुख अग्नि सापकोटाको राजीनामा समेत मागेको छ ।

















