सप्तरी । चार राजनीतिक दलले विभिन्न ६ बुँदे माग राख्दै सप्तरीको सप्तकोसी नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
बिहीवार नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले विभिन्न ६ बुँदे माग राख्दै मेयरको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा तालाबन्दी गरेका हुन् ।
उनीहरूले आर्थिक वर्ष २०७८/७९ का नगरभित्रका तथा सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने माग राखेका छन् । साथै महालेखा नियन्त्रकको कार्यालयबाट बेरुजुको विवरण तथा आन्तरिक लेखा परीक्षणको विवरण उपलब्ध गराइ नगर कार्यपालिका र नगर सभाबाट पारित कानुनी कारबाहीसम्बन्धी निर्णयको विवरण उपलब्ध गराइनुपर्ने लगायतका माग राखेका छन् ।
यता नगर प्रमुख उत्तम कुमार गौतमले भने तालाबन्दी गर्ने समुहले यस अघि हप्तादिन भित्रमा नगरपालिकाले नगर सभाबाट पारित कानुनी कारबाही सम्बन्धी निर्णयको विवरण उपलब्ध गराउन माग राखेको बताए ।
नगरपालिकाले उनिहरुले माग राखेको विवरण तयारी गर्ने क्रममा ७ दिन भित्रमा नगरपालकाको कामकाजले गर्दा तत्काल उपलब्ध गराउन कठिन भएकोमा उनिहरुले तालाबनदी गरेको गौतमले बताए । आवश्यक परेको सुचना उपलब्ध गराई नगरपालिकाको काम सुचारु गरिने गौतमले बताए ।

















