रामधुनी । इटहरी उपमहानगरपालिका परिसरमा निर्माणाधिन स्मार्ट शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । बुधबार उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै उपमहानगर परिसरमा निर्माणाधिन अवस्थामा रहेको स्मार्ट शौचालयको काम अन्तिम चरणमा पुगेको जानकारी गराएको हो ।
इटहरी उपमहानगरपालिका स्थित इटहरी बजारमा सार्वजनिक शौचालय नभएको भनेर केहि संचारमाध्यममा आएका खवर र सामाजिक सञ्जालमा भएका टिकाटिप्पणी प्रति उपमहानगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीले इटहरी ९ स्थित बसपार्कमा दुईवटा सार्वजनिक शौचालय र आइतबार,वुधबार लाग्ने हटिया स्थलमा समेत सार्वजनिक शौचालय रहेको बताए ।
इटहरी उपमहानगरपालिका परिसरमा स्मार्ट सार्वजनिक शौचालय निर्माणको अन्तिम चरणमा रहेको उनले जानकारी दिए । उनका अनुसार २०७७ जेठ ३० गते नै निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भई २०७९ असार २५ सम्ममा निर्माण सम्पन्न म्याद थप भई निर्माण कार्य जारी रहेको छ । वरिष्ठ इन्जिनियर जीवन घिमिरेका अनुसार स्मार्ट शौचालयमा महिला तथा पुरुष शौचालय,महिला तथा पुरुष दुवैका लागि अपांङ्गतामैत्री शौचालय,स्टाफ शौचालय रहने छन । त्यहाँ वगैचा,वाटर फाउण्टेन र क्लक टावर समेत रहने छ ।
२० जनाले एकैपटक प्रयोग गर्न सकिने शौचालयमा स्वचालित चार वटा ढोकाहरु रहने छन । त्यहाँ सेन्सरजडित धारा र वत्तिको व्यवस्था गरिएको छ । ढिलै भएपनि ब्यवस्थित शौचालय निर्माण हुदै गरेको नगरप्रमुख द्धारिकलाल चौधरीले बताए । वडा नम्वर ४ का वडाध्यक्ष चन्द्र भटटराईले उपमहानगरपरिसर वाहिर चौक आसपास कतै जग्गा उपलब्ध नभएपछि वाध्य भएर नगर परिसरमै शौचालय निर्माण गरिएको बताए ।
यसैबिच उपमहानगरपालिकाले दुई वटा घुम्ति शौचालय खरिदका लागि प्रक्रिया समेत अघि वढाएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

















