काठमाडौं । कोभिड–१९ संक्रमण रोकथामका लागि बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
बैठकले सोमबार देखि लागू हुने गरी शैक्षिक संस्थाबारे यस्तो निर्णय गरेको हो। अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने, मेला महोत्सव बन्द गर्नकालागि गृह मन्त्रालयलाई सिफारिस गर्ने सीसीएमसीले निर्णय गरेको छ ।
माघ ३ गतेदेखि सार्वजनिक स्थानहरु पार्क, फिल्म हल, रेष्टुरेन्ट र सपिङको लागि मलमा जाने व्यक्तिले अनिवार्य खोप कार्ड देखाउनुपर्ने भएको छ । सीमानाकामा कोभिड परीक्षणलाई व्यापक बनाउने, खोप लगाउन छुटेका बालबालिकालाई खोपको दायरामा ल्याउने निर्णय पनि बैठकले गरेको छ ।
प्रमुख जिल्ला अधिकारीले जिल्लामा संक्रमणको अवस्था हेरेर स्मार्ट लकडाउन गर्न सक्ने बैठकले निर्णय गरेको छ । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अरु क्षेत्रभन्दा पहिले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

















