काठमाण्डौ । शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगमा साढे १७ हजार दरबन्दी खुला गर्ने तयारीमा सरकार रहेको बतएका छन् ।
बिहीवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुला गर्ने तयारीमा रहेको बताएका हुन् ।
उनले माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा शिक्षक सेवा आयोगले दिएको दरबन्दी आवश्यकता पूरा गर्ने गरी विज्ञापन खुला गरिने बताए । मन्त्री पौडेलले पाँच वर्ष शिक्षक सेवा दिएर बढुवा हुनुपर्ने नियमअनुसार बढुवा गर्ने तयारीमा रहेको पनि बताए । शिक्षक सेवा नियमावली मन्त्रिपरिषदबाट पारित भइसकेको उनले बताए ।
मन्त्री पोडेलले भने, ‘शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर अपुग रहेको साढे १७ हजार शिक्षक दरबन्दी पूरा गर्न विज्ञापन खुला गर्ने तयारीमा सरकार रहेको छ । सरकारले शिक्षक अस्पताल बनाउने योजना पनि अगाडि बढाएको छ । शिक्षा ऐन नबेकाले सरकारले अगाडि बढाएका धेरै काम बाँकी छन् । हरेक कुरा ऐनमा गएर अड्किने गरेको छ । त्यसैले शिक्षा ऐन बनाउनका लागि पनि मन्त्रालयले अगाडि बढेको छ ।’
बैठकमा सांसद्हरूले उठाएका एसईई परीक्षा प्रणाली खारेज गर्ने विषममा सरोकारवाला निकायसँग छलफल भइरहेको पौडेलले बताए । सरकारले यस अगाडि नै कक्षा १२ सम्म विद्यालय तह घोषणा गरेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिक जस्तो सरोकारवाला निकायसँग छलफल गरिरहेको उनले बताए।मन्त्री पौडेलले यो विषयमा मन्त्रालयले कसैको दबाबमा काम नगर्ने बताए ।
त्यस्तै मन्त्री पौडेलले प्रारम्भिक बाल शिक्षा पढाउने शिक्षकलाई ६ हजार रुपैयाँ तलबमा काम गर्न लगाउनु अन्याय भएको बताए । उनले मन्त्रालय सरकारले श्रमिकलाई तोकेको तलब दिनुपर्छ भन्ने पक्षमा रहेको बताए । मन्त्रालयले सरकारले तोकेको तलब दिने भनेर निर्णय गरेको तर केही पालिकामा लागू नभएको उनले बताए ।

















