रामधुनी। विराटनगरमा एक घरमा तोडफोड भएको छ । विराटनगर १ शंकर चोकस्थित देविका मास्केको घरमा ठुलो सङ्ख्यामा आएको मानिसको हुलले तोडफोड गरेका हुन् ।
भाइटीकाको साँझ दुई समूहबीच भएको सामान्य विवादले उग्र रूप लिएपछि विवाद ग्याङ्ग फाइटमा परिणत भएको थियो । झगडामा संलग्न दुई समूहमध्ये एक समूहका एक जनालाई मास्केले आफ्नो घरमा संरक्षण दिएको भन्दै अर्को समूहका मानिसले मास्केको घरमा तोडफोड गरेका हुन् ।
झडपमा परी विराटनगर १ का विरेन कामत घाइते भएका छन् । घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन ।
मदिरा सेवन गरेपछि शंकरपुर र शान्ति चौकका युवाहरू बीच झडप भएको थियो । एक समुहले विराटनगर १ स्थित नातिकाजी मास्केको घर तोडफोड गरिदिएको छ ।
तोडफोड गर्ने समूह पहिचान गर्ने र घटनामा संलग्नताको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । राति १० बजे भएको तोडफोडमा मास्केको घरको झ्याल–ढोका, पर्खाल, फर्निचर लगायतमा क्षति पुगेको छ ।

















