रामधुनी। सल्यानमा बस दुर्घटनामा परेर १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते छन् । गम्भीर अवस्थामा रहेका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पुर्याइएको छ ।
अधिकांश घाइतेको अवस्था गम्भीर रहेको सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले जानकारी दिए । हालसम्म जिल्ला अस्पताल सल्यानमा खलंगमा मृत्यु भएका छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ । ७ जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा पठाइएको डीएसपी थापाले जानकारी दिए ।
गम्भीर घाइते भएका चार जनालाई हेलिकोप्टरबाट उद्धार गरेर बाहिरी जिल्लामा उपचारका लागि पठाइएको बताइएको छ । अन्य ७ जना घाइतेको सल्यानमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसमा ३० जना यात्रु सवार रहेका थिए । चालक भने सम्पर्कविहीन रहेका छन् । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख २५५२ नम्बरको बस आइतबार बिहान पौने ११ बजे कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो । सडकको खराब अवस्था र बस तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।

















