इटहरी । जिर्ण सडकको अवस्था नियाल्न सुनसरीमा सर्वपक्षीय अनुगमन थालिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सरोकारवाला सम्मिलित टोली बनाएर संयुक्त अनुगमन थालेको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादब नेतृत्वको टोलीले पहिलो चरणमा दक्षिणी भेगको स्थलगत निरिक्षणको काम सकेको छ ।
टोलीले सीमा क्षेत्रको अवस्था अवलोकन गर्नुको साथै कप्तान्गञ्ज–इनरुवा सडक खण्डको स्थलगत जानकारी लिएको छ । सो क्रममा टोलीले विशेषगरी सीमावर्ती क्षेत्र हुदै जिल्ला सदरमुकाम जोड्ने विभिन्न सडक खण्डको अवस्था नियालेको छ ।
जिर्ण बनेका सहायक सडक मर्मत तथा स्तरोन्नति गर्ने उद्देश्यले आयोजना गरिएको सर्वपक्षीय अनुगमनका क्रममा प्रतिनिधि सभा सदस्य सीताराम मेहताका साथै प्रदेश एकका प्रमुख प्रतिपक्षी दलका नेता राजिब कोइराला लगायतको उपस्थिति रहेको थियो ।
हुलाकी मार्ग अन्तर्गत निर्माण चरणको प्रकृयामा रहेको सो सडक खण्डको जिर्ण अवस्था नियालेको टोलीले सर्वसाधारणको आवतजावत सहज बनाउन कामको रफ्तार बढाउनु पर्ने निष्कर्श निकालेको छ ।
सडक निर्माण कार्यमा ढिलाई भइरहेको भन्ने जनगुनासोलाई मध्यनजर गर्दै अवस्था नियाल्न सर्वपक्षीय अनुगमनको आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी यादबले बताए ।


















