इटहरी । नेपाल राष्ट्र बैंकले १ अर्ब ७८ करोड रुपैयाँ बराबरको रकम मुद्दतीमा लगानी गर्ने भएको छ ।
बैंकले आफ्ना विभिन्न कोषमा रहेको १ अर्ब ७८ करोड रुपैयाँ रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता कोषमा रहेको उक्त रकम २०७८ असार १ गतेदेखि २०७९ असार १ गतेसम्मको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको हो ।
जसमध्ये बैंकले १ अर्ब ४२ करोड ४० लाख रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा २६ करोड ७० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा ८ करोड ९० लाख रुपैयाँ बराबरको रकम लगानी गर्ने भएको छ ।
बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई जेठ २५ गते दिउँसो ५ बजेभित्र पेश गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।


















