इटहरी । कोरोना महामारीका बीच सर्वाधिक आरोहण अनुमति जारी भएको यो वर्षको वसन्त ऋतुको हिमाल आरोहण सकिएको छ । यो सिजनमा कुल १६ वटा हिमाल चढ्न ७४२ जना आरोहीले अनुमति लिएका थिए ।
यसमध्ये सगरमाथाका लागि मात्र ४ सय ८ जनाको आरोहण अनुमति जारी भएको थियो । यो वर्ष कति जनाले सफल आरोहण गरे भन्ने तथ्यांक आउन भने केही समय लाग्ने पर्यटन विभागले जानकारी दिएको छ ।
यो वर्ष सगरमाथामा कुल ४ जनाको मृत्यु भएको छ । विभागका अनुसार यो वर्ष दुई जना आरोही र दुई जना शेर्पाको निधन भएको छ । यो वर्ष कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५ औं पटक सगरमाचाको चुचुरोमा पुग्दै रेकर्ड राखे ।
हङकङकी आरोही साङ यी हङले सगरमाथामा सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमान यो बर्ष राखिन् । उनले २५ घण्टा ५० मिनेटमा चुचुरो चुम्न सफल भएकि छिन् ।

















