रामधुनी । इटहरी नमुना कलेजका विद्यार्थीले कोरोनाविरुद्ध सचेतनामुलक कार्यक्रम गरेका छन् । बढ्दै गइरहेको कोरोना जोखिमलाई मध्यनजर गर्दै कलेजको सामाजिक कार्य विभागले शुक्रबार इटहरी चोकमा सचेतनामुलक कार्यक्रम गरेका हुन् ।
विश्वका विभिन्न मुलुक तथा नेपालमा कोरोना संक्रमण दर दिन प्रतिदिन बढ्दैगइरहेकाले सबैलाई सचेत बनाउन तथा सतर्क रहन आग्रह गर्ने उद्देश्यका साथ कार्यक्रम गरेको हो । मास्क नलगाउँदा के हुन्छ ? लगायत सरसफाइ गर्ने, सेनिटाइजर समयसमयमा लगाउने विषयमा जानकारी गराइएको विद्यार्थी महिमा तामाङले जानकारी दिईन्।
दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गइरहेको अवस्थामा यतिबेला मानिसहरुले मास्क लगाउन छाडिसकेको र विभिन्न कारणले मास्क लगाउन छाडेकाहरुलाई मास्क लगाउनुपर्छ भनेर सचेत गराइएको विद्यार्थी उषा सुवेदीले बताइन् । उनले यो महामारी विरुद्धको यो लडाई रहेको समेत जानकारी दिइन् ।
मानिसहरुले अहिलेको अवस्थामा हेलचेक्रयाई गरिरहेको र यसले भोलिका दिनमा महामारीको रुपमा फैलिनसक्ने सामाजिक कार्य विभाग प्रमुख शैलेन्द्र राईले बताए ।
‘दोस्रो चरणको महामारी पनि तीब्र रुपमा बढ्दै गइरहेको छ,’ उनले भने, ‘नेपालमा पनि हरेक दिन दुई हजार भन्दा बढी मानिस संक्रमित भइरहेको अवस्था छ । मास्क अनिवार्य छ अहिलेको अवस्थामा ।’ भौतिक रुपमा इटहरीको चोकमा सचेतनामुलक कार्यक्रम गरेपनि अब नियमित सामाजिक सञ्जालमार्फत सचेतनामुलक अभियानलाई निरन्तरता दिने राईले बताए ।
मास्क लगाऔं, सामाजिक दुरी कायम गरौं, भीडभाडमा नजानेलागतका नारासहित अभियान सञ्चालन गरेको हो । केही विद्यार्थीहरु स्वयम् कोरोना भाइरस बनेका थिए ।


















