रामधुनी । कोरोनाको जोखिम बढेपछि स्वास्थ्य मन्त्रालयले बालबालिकालाई अनलाइनबाटै पठनपाठन गराउन सिफारिस गरेको छ ।
पछिल्लो समय बालबालिकालाई सङ्क्रमण हुने क्रम बढेपछि कोभिड(१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसीलाई अनलाइनबाटै पठनपाठनको व्यवस्था गराउन सिफारिस गरिएको हो ।
नेपालमा अहिले स्कुले बालबालिका र १८ वर्षभन्दा कम उमेरकामा सङ्क्रमण बढ्दै गएको पाइएको छ । यसअघि यो उमेर समूहमा सङ्क्रमण दर सात दशमलव ४ प्रतिशत रहेकोमा अहिले दोब्बर भन्दा बढीले बढेर १६ प्रतिशत पुगेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
बिहिबार देशभरि ३ सय ३२ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यसमा १८ वर्षभन्दा मुनिका ५१ जना रहेका छन् । यस्तै, स्वास्थ्य मन्त्रालयले २५ जनाभन्दा बढी भेला हुने भिडलाई रोक लगाउन सीसीएमसीलाई सिफारिस समेत गरेको छ ।

















