इटहरी । सरकारले आजदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरेको छ । दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा पेरका छन् ।
बिहान १० बजेदेखि नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा पत्रकारहरुलाई खोप दिन सुरु गरिएको हो ।
भारत सरकारले अनुदानमा दिएको कोभिशिल्ड खोप पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी तथा एम्बुलेन्स चालकलाई उपलब्ध गराएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि पत्रकारलाई उपलब्ध गराएका हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आजदेखि पाँच दिनसम्म पत्रकारलाई यो खोप दिइने जानकारी दिए । खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ ।
यस्तै, पत्रकार महासंघको सदस्य वा महासंघले सिफारिस गरेका पत्रकारले पनि खोप लगाउन पाउनेछन् । खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाउने कार्यक्रम छ ।


















