इटहरी । प्रदेश १ को प्रदेशसभा बैठक आगामी फागुन ९ गतेसम्मका लागि स्थगित भएको छ । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची तय भए पनि सत्तापक्षका साँसदले विरोध जनाएपछि स्थगित भएको हो ।
सदनमा राष्ट्रिय गान सकिएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाए । मुख्यमन्त्री शेरधन राईले दलको नेताको हैसियतमा निलम्बनमा परेका सांसदहरुलाई प्रवेश दिन नहुने भन्दै सदन चल्न नसक्ने उनीहरुको भनाइ थियो ।
सभामुख प्रदीपकुमार भण्डारीले दुई पटक बस्न आग्रह गर्नुभएको भएपनि नबसेपछि आजको संसद स्थगित गर्दै संसदको अर्को बैठक आगामि फागुन ९ गते बस्ने घोषणा गरे ।
संसद बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ । संसदीय दलका नेता राजिव कोइरालाले सभामुख भण्डारी र सरकारबीचको अवैध साँठगाँठ र सेटिङका कारण सदन बन्धक बनेको बताए ।
। यस्तै नेकपा प्रचण्ड–माधव पक्षका सांसद इन्द्रबहादुर आङ्बोले सत्तापक्षले सहमतिको लागि कुनै परामर्श नगरेको र आफूहरुसँग पनि कुनै परामर्श नगरी सभामुखले मुख्यमन्त्रीको आयु लम्ब्याउन गरी भएको कदम गलत भएको प्रतिक्रिया दिएका छन् ।प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको थियो ।