इटहरी । प्रदेश १ को प्रदेशसभा बैठक आगामि माघ २५ गते बस्ने भएको छ । गत माघ ७ गते सुरु हुने बित्तिकै अनिश्चित कालको लागि स्थगित भएको बैठक प्रदेशसभा सचिबालयले सूचना जारी गर्दै २५ गते २ बजे प्रदेशसभा बैठक बस्ने जानकारी दिएको हो ।
मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि मुख्यमन्त्रीलाई नेकपाका बहुमत सांसदले दलको नेताबाट हटाएको र मुख्यमन्त्रीले अविश्वास प्रस्ताव दर्ता गर्ने १६ जना सांसदलाई निलम्बन गरेको अवस्थामा गत माघ ७ गते प्रदेशसभा बैठक आह्वान भएको थियो ।
बैठकको सुरुमै प्रदेश प्रमुखको पत्र सभामुखले पढेर सुनाएपछि बैठक स्थगित भएको थियो । स्थगित बैठक सभामुखले २५ गतेको लागि आह्वान गर्नुभएको प्रदेशसभा सचिब गोपाल पराजुलीले जानकारी दिए ।
अविश्वास प्रस्ताव दर्ता भएको अवस्थामा प्रदेशसभाको बैठक लामो समय स्थगित भएको भन्दै प्रस्ताव दर्ता गर्ने सांसदहरुले तत्काल बैठक सुरु गर्न माग गरेका थिए । प्रदेशसभाको अबको बैठकमा मुख्यमन्त्री विरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अगाडि बढ्ने बताइएको छ ।
आपूmले कार्वाही गरी निलम्बन गरेका सांसदलाई प्रदेशसभामा प्रवेश नदिने र सभामुखले प्रवेश गराएमा बैठक अबरुद्ध गर्ने नेकपा संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । राजभण्डारीलाई नेकपाको संसदीय दलको बहुमत पक्षले प्रमुख सचेतबाट हटाइसकेको छ भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीम आचार्यलाई नेता चुनेको छ ।
तर, मुख्यमन्त्री पक्षले यी कुनै कारबाही मान्न आफुहरु तयार नभएको बताएका छन् । अर्को पक्ष पनि मुख्यमन्त्री पक्षबाट कारवाही गरीएका कसैले पनि कारवाही स्वीकार गरेका छैनन् । यस्तो अबस्थामा यो बैठकलाई चासोपूर्ण रुपले हेरिएको छ ।