इटहरी । प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेट पनि नबसी स्थगित भएको छ । संसदको अर्को बैठक कहिले बस्ने भन्ने पनि टुंगो लागेन । सभामखु प्रदीपकुमार भण्डारीले संसदको सातौं तथा हिउँदे अधिवेशन आव्हान गरेको प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पठाउनु भएको पत्र पढेर सुनाएसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे ।
नेकपाभित्रको फुटको राजनीतिका कारण कारवाही गरिएका सांसदहरुलाई एक पक्षले अर्को पक्षलाई आज प्रदेश संसदमा प्रवेश गर्न नदिनेसम्मको तयारी थियो । तर, औपचारिकताका लागि संसद बैठक डाक्ने र स्थगित गर्ने विषयमा सहमति जुटेको छ ।
यसअघि नेकपा प्रचण्ड माधव समूहले प्रदेशसभा बैठकमा दलको नेताको हैसियतमा मुख्यमन्त्री शेरधन राईलाई बोल्न नदिने निर्णय गरेको छ । यस्तै ओली समूहको संसदीय दलको अनौपचारिक बैठकले प्रचण्ड माधव समूहका १६ सांसदलाई संसदीय गतिविधि गर्न नदिने निर्णय गरेको थियो ।