काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टिमले मुख्य प्रशिक्षक श्रीलंकालाई विश्वकपको उपाधि दिलाएका डेभ वाटमोरलाई पाएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विश्वकप विजेता प्रशिक्षक डेभनेल फ्रेडेरिक (डेभ) वाटमोरलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
उमेश पटवालले गत फेब्रुअरीमा नेपालमा भएको आईसीसी विश्वकप लिग २ सिरिजसँगै राजीनामा दिएपछि नेपाल मुख्य प्रशिक्षकविहीन थियो । यो अवधिमा जगत टमाटाले प्रशिक्षकको भूमिका निभाए ।
कोरोना महामारीका कारण रोकिएको क्रिकेट गतिविधि मंसिर १० गतेबाट सुरू भयो । क्यानले राष्ट्रिय टिमको क्लोज क्याम्प सुरू गर्दा पनि टमाटाले नै खेलाडीहरूलाई प्रशिक्षण दिए ।
तर विश्वकप लिग २ सिरिज अगाडि वाटमोरले जिम्मेवारी सम्हाल्ने भएका छन्, जोसँग चार टेष्ट राष्ट्रको प्रशिक्षक भइसकेको अनुभव छ । सन् १९९६ मा श्रीलंकाला विश्वकप जिताउँदा वाटमोर नै प्रशिक्षक थिए । उनले आईपीएलमा कोलकता नाइट राइडर्सको प्रशिक्षकको रुपमा समेत काम गरिसकेका छन् ।