इटहरी । कोभिड–१९ महामारीका बीच सगरमाथा क्षेत्रमा पर्ने चर्चित अमादब्लम हिमाल आरोहणमा आरोहीको आकर्षण बढ्दो छ । विदेशी उच्चपदस्थ व्यक्ति तथा स्वदेशी आरोही अहिले धमाधम अमादब्लम हिमालको आरोहणमा छन् । पहिले सगरमाथा भन्दा चर्चित अमादब्लम हिमाल आरोहणमा धेरै विदेशी आरोही पुग्छन् । पछिल्लो समय नेपाली आरोहीको पनि लर्को लाग्ने गरेको छ । यसअघि १४ पटक सगरमाथाको सफल आरोहण गरेका बेलायती क्यान्टन र उहाँको आरोहण दलका नेपाल र विदेशी सदस्य अमादब्लम हिमाल आरोहणका लागि आधारशिविर पुगेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आधार शिविरमै पुगेर सामूहिक तस्वीर खिंचाउँदै आरोहणमा उत्साह प्रदान गरेका छन् । उनले १४ पटक सगरमाथा आरोहण गर्ने क्यान्टनसँग अमादब्लमको आधार शिविरमा भेट हुँदा खुशी लागेको बताए ।
पछिल्ला वर्ष धेरै स्वदेशी आरोहीले अमादब्लम चढेका छन् । वसन्तमा सगरमाथा, कञ्चनजङ्घा, मकालु, अन्नपूर्ण, ल्होत्सेलगायत हिमाल आरोहणमा आरोहीको ओइरो लाग्ने गरेको छ । शरद् ऋतुमा साना चुचुरा चढ्न र पदयात्राका लागि धेरै विदेशी आउँछन् ।
यसअघि कात्तिक २६ गते कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले ६ हजार ८१४ मिटरको अमादब्लम हिमालको सफल आरोहण गरेका थिए ।