आज नवरात्रको नवौँ दिन । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी हर्षोल्लासका साथ सिद्धिदात्री स्वरुपपा दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ । देवी दुर्गा नवौँ स्रुवरुपमा सिद्धिदात्रीको नामले चिनिनुहुन्छ ।
महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्र्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।
दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् ।
मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।