काठमाडौं । चालु आर्थिक वर्षको २ महिनामा रेमिट्यान्स ८ प्रतिशतले बढेको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान अर्थिक तथा वित्तिय अवस्थाको प्रतिवेदन अनुसार साउन र भदौ महिनामा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले घटेको थियो । भने यस अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २।६ प्रतिशतले वृद्धि भई १ अर्ब ३९ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.६ प्रतिशतले घटेको थियो ।
यस्तै यसै अवधिमा वैदेशिक व्यापारमा पनि सुधार आएको राष्ट्र बैंकले जनाएको छ । यसै अवधीमा सबै आर्थिक परिसुचकहरु सकरात्मक रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए।
चालु आर्थिक वर्षको २ महिनामा कुल वस्तु निर्यात १०.५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधीमा सोही अवधिमा यस्तो निर्यात २५.९ प्रतिशतले वृद्धि भएको थियो ।
यसै अवधिमा कुल वस्तु आयात २२.१ प्रतिशतले घटेर १ खर्ब ७८ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १.२ प्रतिशतले घटेको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, ४०.१ प्रतिशत र २३.६ प्रतिशतले घटेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख रहेको छ ।
गन्तव्यका आधारमा भारततर्फ १८.७ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्पm क्रमशः ५४.९ प्रतिशत र २.९ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।