पाँचथर । दशैँ तिहार नजिकिएसँगै घर लिप्नकालागी पाँचथरको फिदिममा राटो माटोले बजार बढेको छ ।
स्थानीय चारखम्बेको रातोमाटो खनेर दशैँ तिहारको समयमा बर्सेनि बिक्री हुने गरेको छ । घर पोत्न र सिँगार्न प्रयोग गरिने रातोमाटो प्रतिबोरा ६० देखि १ सय रुपैँयामा बिक्री भइरहेको छ । रातोमाटो पाँचथर जिल्लासँगै तेह्रथुमको आठराई क्षेत्र, ताप्लेजुङ, इलाम र झापासम्म बिक्री हुने गर्दछ ।
रातोमाटो बेचेरै दशैँ, तिहार खर्च जुटाउँदै आएकी चारखम्बेकी मिरा गुरुङलाई अहिले रातो माटो बेच्न भ्याइ(नभ्याइ छ । उनी ५ वर्षयता माटो बेचेर दशैँ तिहार खर्च जुटाउँदै आएको बताउँछिन् ।अघिल्लो वर्ष रातोमाटो बेचेर डेढ लाख रुपैयाँ आम्दानी गरेको गुरुङको भनाइ छ ।
उनले चारखम्बेमा रहेको आफ्नै जग्गाबाट ५ जना कामदार लगाएर रातोमाटो निकालेर बिक्री गरिरहेकी छिन् । यस क्षेत्रमा आफ्नै जग्गा नहुनेहरुले पनि जग्गाधनीलाई प्रतिबोरा १५ रुपैयाँ दिएर रातोमाटो निकालेर बिक्री गर्ने गरेका छन् ।
फिदिम–४ का क्षितिज खवासले जग्गा लिजमा लिएर रातोमाटो निकालेर बेचविखनग गरेका छन् । दशैँ तिहारको समयमा जग्गा लिजमै लिएर भएपनि दशैँ तिहार खर्च जुटाउँदै सहजै जुटेने उनको भनाई छ । माटो ट्रयाक्टरमा हालेर गाउँगाउँमा लगेर बिक्री गर्ने गरेको उनले बताए ।
विभिन्न ठाँउबाट एक महिनाअघि देखिनै माटो किन्नेहरु यहाँ आउने गर्दछन् । अरु ठाँउमा पाइने रातोमाटोभन्दा यहाँ पाइने माटो चम्किलो हुने भएकाले यहाँको रातोमाटोको धेरैको रोजाइमा पर्ने गरेको उनले भने ।