जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लाइडर गन मार्फत सवारीसाधनको गति जाँच गर्ने शुरु गरेको छ । चाडपर्वमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि मुख्य राजमार्ग क्षेत्रमा लाइडर गन मार्फत जाँच शुरु गरिएको हो ।
जिल्लामै पहिलोपटक अत्याधुनिक लाइडर गन मार्फत जाँच शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताए । लाइडर गनले तोकिएको भन्दा बढी गतिमा सवारी चलाउने चालकको फोटो, भिडियो र सवारीको गति कैद गर्ने कुरा उनले बताए ।
तीव्र गतिका कारण अधिकांश ठाउँमा गम्भीर प्रकृतिका दुर्घटना हुने भएकाले यसले न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ । चाडपर्व लक्षित गरेर यो अभियान सञ्चालन गरेका छौँ , यसलाई पछिसम्म निरन्तरता दिनेछौँ । सम्पूर्ण सवारी साधन चालकहरुलाई सवारी चलाउँदा संयमित र अुनशासित भएर मात्र सवारी साधन चलाउनु हुन अनुरोध गरे ।
ट्राफिक प्रहरीले पहिलो दिनमै ४१ जना सवारी चालकलाई कारवाही र सचेत गराएको उनले जानकारी दिए । चितवन सबैभन्दा धेरै सवारी दुर्घटना हुने जिल्लामा पर्छ ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणकै लागि जिल्लाका विभिन्न स्थानमा सचेतनामूलक बोर्ड राखेको छ ।