इटहरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दुर्व्यवहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने महिलाले मुद्दा फिर्ता लिएकी छिन् । आफूले अरुको उक्साहटमा परेर मुख्यमन्त्री राईलाई त्यस्तो आरोप लगाएको भन्दै वालिकाले काठमाडौं जिल्ला अदालतमा मुद्दा फिर्ताका लागि निवेदन दिएकी हुन् ।
दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले निवेदन र मुद्दा फिर्ताको कागज गरी बुझाएपछि जिल्ला अदालत काठमाडौंले राई विरुद्ध लागेको अंश मुद्दा खारेज गरी लगत कट्टा गरेको छ । आफूलाई विपक्षी शेरधन राईले रिलेसनमा बसौं भनेको बताउँदै बालिकाले काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दामा राईबाट अंश मागदाबी गरेकी थिइन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले अंशचलनको मुद्दा फिर्तासम्बन्धी आदेश दिएको छ । मुख्यमन्त्री राईविरुद्ध मुद्दा लगाउने खड्का पनि नेकपाकै कार्यकर्ता हुन् । उनले नेकपा नेता कृपासुर शेर्पाको उक्साहटमा आफूविरुद्ध मुद्दा हालेको भन्दै शेरधनले तत्कालीन एमालेका अध्यक्ष केपी ओलीसमक्ष निवेदन दिएका थिए ।
तर, पार्टीले आफूलाई न्याय नदिएको शेरधनले गुनासो गर्दै आएका थिए । आफूमाथि गलत आरोप लगाएको भन्दै मुख्यमन्त्री राईले खड्काविरुद्ध तत्कालीन आइजीपी सर्वेन्द्र खनालसमक्ष पनि उजुरी गरेको तर, प्रहरीले यसबारे छानविन प्रक्रिया अघि नबढाएको गुनासो राईले गर्दै आएका थिए ।