एक सय बीस दिन लामो बन्दाबन्दी खुले सँगै वातावरण केही सहज बन्दै छ । चार महिनाको अन्तराल पछि बजारका चिया पसल खुलेका छन् । सबैको मुखबाट एउटै कुरा सुनिन्छः कोरोनाले आज यतिको मृत्यु भयो । रेडियोले फुकिरहेको छ । आज फेरी फलानो ठाउँमा बाढी पहिरोबाट यतिको मृत्यु भयो । विस्तारै अब शिक्षण संस्था र रोकिएका परीक्षाहरू सुचारू हुनेछन् । कोरोना भाइरसको प्रभावले चार महिनासम्म विद्यालयको पठनपाठन हुन सकेन ।
शिक्षकहरूले आ–आफ्नो स्थानमा बसेर सकेको सानो तिनो सिकाइ सहिजीकरणमा साथ दिए । चियाको चुस्की सँगै नेपथ्यबाट कसैले भन्यो “यी मास्टरहरूले चार महिनासम्म बसेर फोगटमा तलब खाए । अब विद्यालय खुल्ने भो । मास्टरका दिनहरू सुरू भए । हा हा हा हा ।” मलाई फोगटमा तबल खाए भन्ने विषयले भन्दा पनि एउटा शब्दले छोयो । नेपथ्यबाट आएको मास्टर शब्दले । त्यसैले मेरो मस्तिष्कलाई तरङ्गित बनायो । मेरो मनले एक पटक आफैले आफैलाई सोध्यो । म ‘मास्टर’ कि ‘शिक्षक’को दर्जामा परेँ । ‘मास्टर’ शब्दलाई अझै पनि नेपाली समाजमा हेयको दृष्टिले हेर्ने गरिन्छ । हाम्रो चिन्तन देखेर अचम्ममा परेँ र एउटा निष्कर्ष निकाले “शैक्षिक गुणस्तर ल्याउन पहिला शिक्षक र शिक्षण पेसाप्रतिको सोच परिवर्तन गर्नुपर्ने रहेछ ।”
औपचारिक शिक्षाको प्रारम्भ हुनु पूर्व शिक्षार्थीहरू गुरूको आश्रममा गएर शिक्षा प्राप्त गर्थे । औपचारिक रूपमा विद्यालय सञ्चालन हुन थाले पछि भने एउटा निश्चित ठाउँमा पठनपाठनको व्यवस्था भयो । ‘मास्टर’ शब्दको वास्तविक अर्थ गुरू वा शिक्षक भए पनि शिक्षण पेसालाई तल्लो दर्जाको पेसाको रूपमा लिइदै आएको छ । त्यसैले ‘मास्टर’ र ‘मास्टरी’ पेसा प्रति नेपाली समाजमा सकारात्मक धारणको विकास हुन सकेको छैन । अझै पनि हाम्रो बुझाइ केही गर्न नसक्नेले घर नजिकको विद्यालयमा शिक्षक बन्ने परम्परा छदैँ छ । राज्यको नीति पनि त्यसै अनुसारको छ । सामान्यत शिक्षण पेसा अप्नाउन शिक्षाशास्त्र संकाय पढेकै हुनुपर्छ ।
विज्ञान, व्यवस्थापन जस्ता अन्य संकाय पढ्न निश्चित मापदण्ड बनाइएको छ तर ज्ञानको ज्योति फैलाउने शिक्षक बन्न शिक्षाशास्त्र संकाय पढ्न कुनै मापदण्डको व्यवस्था गरिएको छैन । यसो भनौँ, सबै भन्दा कमजोर विद्यार्थीहरूले पढ्ने संकाय नै शिक्षाशास्त्र संकाय भएको छ । सरकार आफै कमजोर व्यक्तिलाई शिक्षण पेसा गर्न लगाउने अनि शैक्षिक गुणस्तर आएन भनेर गोहीको आँसु चुहाउनुको के अर्थ ? ‘सर’ शब्द सम्मानित व्यक्तिलाई सम्बोधन गर्दा प्रयोग गरिन्छ । समग्र शैक्षिक प्रणालीमा सुधार गर्न राज्यले लिने नीतिमा अब समय सपेक्ष परिवर्तन गर्न आवश्यक छ ।
सर्वप्रथम विद्यालयको शैक्षिक गुणस्तर परिवर्तन शिक्षा, शिक्षक र शिक्षण पेसा प्रतिको हाम्रो मानसिकता, सोचाइ वा दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने हुन्छ । मान्छेले जस्तो चिन्तन पालेको हुन्छ, त्यस्तै नै व्यवहार देखाउने हुनाले शिक्षक र शिक्षण पेसाप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन सके मात्र उत्पादन राम्रो आउने निश्चित छ । हामीले आफु भित्र भएको ‘मास्टर’ प्रतिको घृणीत सोचलाई विरेचन गर्न सक्नुपर्छ । जबसम्म मनभित्र रहेको ‘मास्टर’ प्रतिको विकार पदार्थलाई हटाउन सकिदैन तबसम्म चाहे जतिको शैक्षिक परिवर्तन ल्याउन सकिदैन । ‘गुरू’ त्यो हो जसले अन्धकारबाट उज्यालो मार्ग देखाउँछन् ।
गुरूप्रतिको सम्मान भावको विकास गर्न गुरूले निभाउनु पर्ने भूमिका पनि त्यसै अनुसारको हुन आवश्यक छ । नेपथ्यबाट आएको आवाज मात्र होइन, समाजका गन्यमान्यबाट पनि त्यस प्रकारको व्यवहार यदाकदा सुन्न पाइन्छ । अर्काे पक्षसमान तहका निजामति कर्मचारी र शिक्षकहरू विचमा समेत एकरूपता छैन । यहाँ एकरूपताका कुरा त परै छाडौँ शिक्षण, पेसाप्रतिको मानिसहरूको बुझाइ नै सङ्कुचित छ । यही सङ्कुचित सोचाइको कारण पश्चिमा मुलुक भन्दा हामी धेरै पछाडी छौँ । हामीले प्रदान गर्ने शिक्षालाई पश्चिमा मुलुकमा राम्रो मानिदैन । एकाद बाहेक हरेक प्रकारका जनशक्ति उत्पादनको स्रोत विद्यालय नै हो । हामीलाई चाहिने जनशक्ति उत्पादनको मूल स्रोत भने शिक्षक हुन् । शिक्षण पेसाप्रतिको रूचि कम हुनुमा शिक्षण पेसाप्रति हेर्ने सङ्कुचित दृष्टिकोण हो । त्यसैले समग्र शैक्षिक प्रणालीमा शिक्षक तथा शिक्षण पेसाप्रतिको सकारात्मक सोचको विकास गर्ने बेला आएको छ । त्यसका लागि सरकारी निकायले शिक्षक र शिक्षण पेसालाई अन्य पेसा सोसरह उच्च सम्मान दिनुपर्छ ।
एउटा भनाइ छ, सकारात्मक सोच, सकारात्मक कार्यबाट सकारात्मक नतिजा आउँछ । त्यसैले विद्यालयको शैक्षिक उन्नयन गर्न मानिसहरूको चिन्तनमा परिवर्तन गर्नुपर्छ । सरकारी पक्षबाट शिक्षण पेसाप्रति सकारात्मक चिन्तनको विकास गर्न शिक्षण पेसामा प्रवेश गर्न चाहनेका लागि सही गोरेटो बाटो बनाउनु पर्छ । अब्बल व्यक्तिहरूले मात्र शिक्षाशास्त्र संकाय पढ्ने व्यवस्था गर्न सके त्यसबाट आएका जनशक्तिले मात्र गुणस्तरीय जनशक्ति उत्पादन गर्न सक्छन् । अर्काे पाटोमा, शिक्षण पेसामा आबद्ध हुने शिक्षकहरूले आफ्नो नीति नियमलाई यथोचित पालन गर्ने हो भने शिक्षक र शिक्षण पेसाप्रतिको मानिसहरूको धारणा सकारात्मक बन्न सक्छ । त्यसैले आफू र आफ्नो शिक्षण पेसालाई कति प्रशंसीय बनाउने हिस्सा स्वयम् शिक्षकहरूलाई नै छ । तसर्थ मानिसहरूको ‘शिक्षक’ प्रतिको सकारात्मक चिन्तनको विकास गर्न शिक्षक आफै जिम्मेवार बन्नुपर्छ ।