इटहरी । नेपालमा पछिल्लो समय कोरोना संक्रमणले थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको हिजोको नियमित प्रेस व्रिफिङपछि चितवनमा ४, पर्सामा ३, सिराहाका १, सुनसरीका १, काठमाडौंमा एक जनाको ज्यान गएको हो ।
हिजो ज्यान गुमाएका सुनसरी धरान ११ का ६० वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । निमोनियाले मृत्यु भएपछि गरिएको पीसीआर रिपोर्टमा कोरोना पुष्टि भएको हो ।
यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमतिको पनि ज्यान गएको छ । सिराहाको मिर्चैया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको ज्यान गएको हो । उनी भदौ ९ गते कोरोना पुष्टि भएपछि १० गते प्रतिष्ठानमा भर्ना भएका थिए । मधुमेह र उच्च रक्तचापका बिरामी उनको हिजो बेलुकी ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
यसैगरी काठमाडौंको गंगालाल अस्पतालमा उपचाररत पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । लामो समयदेखि मुटु रोगबाट ग्रसित ७० वर्षीय चालिसेको आज ज्यान गएको काठमाडौं महानगरपालिका ३ का वडा अध्यक्ष दीपक केसीले जानकारी दिए ।
उता चितवनमा ३ जनामा मृत्युपछि कोरोना पुष्टि भएको छ भने एक संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । खैरहनी नगरपालिका १३ की ५५ वर्षीया महिला, भरतपुर महानगरपालिका ११ का ६५ वर्षीय पुरुष र भरतपुर ११ कै १८ वर्षीया युवतीको कोरोनाका कारण ज्यान गएको हो ।
यसैगरी चितवन मेडिकल कलेजमा थप एक जना कोरोना संक्रमितको आज विहान ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको अस्पतालमा उपचारका त्रलममा ज्यान गएको कलेजका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । एता पर्सामा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको छ ।
वीरगन्ज महानगरपालिका २० हरपतगञ्जका ५३ बर्षीय पुरुष, बारा कोहल्वीका ६० वर्षीय पुरुष र अर्का ठेगाना नखुलेका अन्दाजी ६० वर्षीय पुरुषको ज्यान गएको नारायणी अस्पतालका सूचना अधिकारी डा.अतुलेशकुमार चौरसियाले जानकारी दिए यो संख्यालाई स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।