एउटा गाउँमा एक जना किसान बस्दथे । उनका ४ जना छोरा थिए । समय क्रममा सबै छोराहरू हुर्केर बिहे बटुलो सम्पन्न भयो । उनकी पत्नीको पनि रहँदा बस्दा कामले थलिएको शरीर भएको कारणले असमयमा नै देहावसान भयो । बाबुले सबै छोराहरूलाई सम्पत्ति(ऋण धन) भाग लगाएर अंश बन्डा गरिदिए । आफू चाहिँ लाला बाला सानै छन्, रेख देख पनि चाहिन्छ भनेर कान्छो छोरा पट्टी बसे ।
सबैले आ आफ्नो भागको सम्पत्ति लिए । सबैको धेरै कमाउने ? भन्ने प्रतिस्पर्धा जस्तै काममा लागे । कृषि पेसाको भविष्य पनि राम्रै देखिन थाल्यो । कान्छोको कृषि यान्त्रीकरणको थालनी ट्र्याकटरबाट भयो । बैङ्कबाट ऋण लिएर ट्र्याकटर किनेर आफू पनि खेत जोत्न र ढुवानीमा प्रयोग गरी आफ्नो र अरूको काम चाँडो गर्ने तथा थप आय आर्जन गर्ने योजना साथ काम थाले ।
ट्र्याक्टर ल्याउन धितो राख्ने जमिन पुगेन । बाबुको नाममा रहेको जिउनी पनि अड्डामा गएर आफ्नो नाममा राखे । बाबुलाई धेरै पटक जानुपर्छ उमेरले साथ दिँदैन भनेर मञ्जुर गराए । बुहारी पनि स्थानीय विद्यालयमा जागिर खान थालिन् । समयमै खाना खाएर स्कुल जाने बाध्यता संस्कृति बन्दै गयो । दिउसो बाबुलाई खाजा र खाना दिने कोही भएन । बुढा मान्छे दुब्लाउँदै गएर रोगी पनि भए ।
अब रुख खोपेर बनाएको भर्याङ्ग चढेर माथि जान नसके पछि भैंतलामा गाईको छेउमा टाटी बेरा लगाएर तला मुनि बालाई सुत्ने ठाउँ बनाइयो । खाजा, खाना र उपचारमा उचित ध्यान नपुगेका कारण बुढा बा अलि अलि गर्दै थला परे । गाउँमा हल्ला खल्ला भयो । भला बुढा मान्छेले चासो देखाउन थाले । छुट्टिएर गएका छोराहरूलाई पनि खबर पुग्यो । उनीहरू कोठाको अव्यवस्था र बाबुको अवस्था देखेपछि कान्छा कान्छीलाई हेरेर मुख बिगार्दै मुखामुख गर्थे ।
साँझमा गाउँका एक जना पाका मान्छे एउटा बाकस लिएर आए । अनि बुढा मान्छेलाई ठुलो आवाजमा भन्न थाले दाइ! यो बाकस मेरोमा भाउजूले राख्नु भएको थियो । भाउजूको सेख पछि कसैले खोजेनन् । आज ल्याइदिएको छु । यसको चाबी लुकाएर राख्नु, अरूलाई नदिनु र तपाईँले पनि नखोल्नु । अनि कान्छो छोरो बुहारी छाडेर अरू छोराकोमा पनि नजानु ! भनेछन् । अनि हल्ला सुनेर माथि बस्ने छोरा बुहारी आए । बाकस हेरे । जग्गा त हात परेको थियो । अब बाकस…? यो कुरा सुकेको खरमा आगो जस्तै फैलिन पुग्यो ।
पर बसेका छोरा र उनीहरूका परिवार पनि आए । कोठाको सफाइ, उपचार र खानाको तत्काल व्यवस्था भयो । सबै छोरा बुहारीहरूले बाबुलाई आ आफ्नो घर जान भनेछन् । बुढा बा टसमस भएनन् । भोलि देखि राम्रो हेरचाह भयो । मान्छेको शरीर हो २—४ वर्ष पछि बा बिते । लास उठाउन अघि बाकस खोल्ने सबैले अडान लिए । बाकस खोलियो । भित्र सम्पत्ति थिएन । ढुङ्गा, इँटा, फलामका टुक्रा आदि मात्र थियो ।
छोरा छोरीले बाबु आमा होइन जिउनी पाल्दा रहेछन् । त्यो बाकस बचत थियो । त्यस कारण जिउनी बचत हो । बचत चल वा अचल सम्पत्तिको रूपमा हुन्छ । कमाएको सबै सम्पत्ति खर्च गर्नु अघि सानो अंश भए पनि बचत गरौँ । आम्दानीको निश्चित अंश जोगाउने बानी बसालौँ । जोगाउन सहकारी, बैङ्क, वित्तीय संस्था छन् । पायक र विश्वासिलो संस्थामा बचत गरौँ । यो बुढ्यौलीको साथी हो ।
(काल्पनिक कथा कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ । बाबु—आमा प्रति हेय दृष्टि राख्नेहरूमा समर्पित)
(लघु कथा)
इटहरी ०५, सुनसरी