विराटनगर । कोरोना परीक्षणमा भएको अनियमितताबारे सत्यतथ्य बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारीलाई प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले निर्देशन दिएका छन् ।
मोरङको बुढीगंगा गाउँपालिकामा कोरोना परीक्षणमा अनियमितता भएको विषयमा सञ्चार माध्यममा समाचार आएकाले सत्यतथ्य बुझ्नका लागि प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई मन्त्री घिमिरेले निर्देशन दिएका हुन् ।
गाउँपालिकाले कोरोना परिक्षणका लागि विभिन्न उद्योगसँग शुल्क लिएको घटना सार्वजनिक भएपछि मन्त्रि घिमिरेले चासो लिएका हुन् ।
मन्त्री घिमिरेले प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवसँग परीक्षण शुल्कका विषयमा सोधपुछ समेत गरेका छन् । प्रयोगशाला निर्देशक यादवले कोरोना परीक्षणमा कसैसँग पनि शुल्क नलिएको मन्त्री घिमिरेसमक्ष स्पष्ट पारेका छन् ।
यसैविच प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रक्रिया अघि बढाएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाण्डौं, भारतको दिल्ली सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए ।