विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई आज पद तथा गोपनियताको सपथ गराएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ गराएका हुन् ।
शुक्रबार उपाध्यक्ष लोक्सोमसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । सो अवसरमा नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई मुख्यमन्त्री राईले नियुक्ति पत्र पनि प्रदान गरे । चैत्र २१ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनिहरु प्रदेश योजना आयोगमा नियुक्त भएका हुन् । सपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, कर्मचारी, पत्रकारसहित योजना आयोगका नवनियुक्त पदाधिकारीका आफन्तहरूको उपस्थिति रहेको थियो ।
यसैबीच, सपथग्रहण कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्ने क्रममा प्रदेश नं. १ मुख्यमन्त्री राजेन्द्रकुमार राईले आयोगका नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई बधाई दिए । उनले संसद र सरकारको समयावधि अब छोटो भएकाले कति पनि समय खेर नफाली आफ्नो सम्पूर्ण क्षमताका साथ तोकिएको जिम्मेवारी पूरा गर्न आयोगका नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई आग्रह गरे ।
मुख्यमन्त्री राईले संघीय प्रणाली आरम्भ भएपछिको पहिलो कार्यकालमा रहेको संसद, झण्डै सोही प्रकारको सरकारका सामु थुप्रै चुनौती रहेको स्मरण गर्दै यस प्रणालीप्रति जनतालाई निराश हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

















