रामधुनी । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसीको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकले दिने सेवाका लागि आवश्यक केवाईसी (नो योर कस्टमर) लाई डिजिटाइज्ड गर्ने योजनाका साथ यो प्रक्रिया अघि बढाएको हो ।
बुधबार प्राधिकरणले सिस्टम खरिदका लागि अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान समेत गरेको छ । सिस्टमको डिजाइन, निर्माण, सिस्टममा आवद्ध गराउने, लागू गर्ने, सिस्टम सञ्चालन तथा मर्मत सहितका लागि बोलपत्र आह्वान गरेको हो ।
दूरसञ्चार सेवा प्रदायकबाट सिमकार्ड खरिद गर्दा प्रयोगकर्ताले झेल्नुपर्ने कागजी झन्झटलाई अन्त्य गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
यो सिस्टम लागू भएसँगै नागरिकता बोकेर सेवा प्रदायकको कार्यालयमा सिमकार्ड लिएर जानुपर्ने व्यवस्थाको अन्त्य हुनेछ ।
त्योभन्दा पनि बायोमेट्रिकमा आधारित केन्द्रीकृत केवाईसी सिस्टम निमार्ण गर्ने उद्देश्यका साथ यो परियोजना अघि बढाइएको हो । जसमार्फत सिम दर्ता तथा त्यसको प्रमाणीकरणको काम गरिनेछ ।
प्राधिकरणको माग अनुसार सिस्टम उपलब्ध गराउन सक्षम कम्पनीले यही अप्रिल २२ तारिखसम्म आवदेन दिन सक्नेछन् । त्यसरी आएको आवेदनका आधारमा कम्पनी छनोट गरी सिस्टम निर्माण तथा जडानको काम हुने प्राधिकरणले जनाएको छ ।
यसका लागि प्राधिकरणले चालू आर्थिक वर्षको बजेटमा ४० करोड छुट्याएको छ ।

















