इटहरी । नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता एवं नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले कोभिड–१९ को चपेटामा परेका श्रमिकका अधिकारको रक्षाका लागि सरकारले ठोस कदम चाल्न आग्रह गरेका छन् ।
१३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरुमा शुभकामना व्यक्त गर्दै कोइरालाले महामारीको चपेटामा रहेका जनताका लागि प्रदेश सरकार र केन्द्र सरकारले राहत प्याकेज तत्काल घोषणा गर्नुपर्नेमाजोड दिए ।
उनले कोरोना महामारीको कठिन परिस्थितिमा सरकारले मजदुर वर्गका लागि सरकारले विशेष राहतका कार्यक्रम ल्याउनुपर्ने बताउँदै सरोकारवाला सबैले श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्न र श्रमिकमैत्री भएर काम गर्न समेत आग्रह गरे ।
सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कोइरालाले श्रमिक वर्गको हितका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ ।

















