खोटाङ । खोटाङ हलेसी महादेवको दर्शन गरी फर्कदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा २२ यात्रु घाइते भएका छन् भने, एक जनाको ज्यान गएको छ । घाइते मध्ये ९ जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
बा ३ ख ९२८५ नम्बरको बस आज विहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सप्तरीको कञ्चनरुप नगरपालिकाका तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा सहचालक सिन्धुपाल्चोकका अन्दाजी १८ वर्षीय अनिल तामाङको घटनास्थलमा नै ज्यान गएको १ नं प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
कार्यालयका अनुसार बसमा ३९ यात्रु सवार रहेका थिए । हलेसी दर्शन गरेर फर्कनेक्रममा तिर्थयात्री बोकेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घट्नामा परेको हो । सडकको घुम्ती पुग्न लाग्दा पल्टिएको बस अन्दाजी २० मिटर तल सडकमै अड्किएको थियो ।
वस दुर्घट्नामा घाइते सप्तरी कञ्चनरुप नगरपालिका–१२ का १४ वर्षदेखि ७५ वर्ष उमेर समूहका यात्रु थिए । घाईतेलाई उपचारका लागि उदयपुरको कटारी पठाइएको बताइएको छ ।

















