तेह्रथुम । म्याङ्लुङ नगरपालिका भित्र पर्ने ३,४,५,९ र १० क्षेत्रमा पछिल्लो समय बाँदरको अत्यधिक आतंक बढ्दै गएको भन्दै स्थानीय बासिन्दाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। खेतीपातीको मुख्य सिजन सुरु भइसकेको अवस्थामा बाँदरहरूले बालीनालीमा ठूलो क्षति पुर्याइरहेको भन्दै स्थानीयवासीले तत्काल समाधानको माग गरेका हुन्।
स्थानीयका अनुसार बाँदरहरूले दैनिक रूपमा खेतबारीमा पसेर अन्नबाली नष्ट गर्ने, खाद्यान्न बिगार्ने तथा घरआँगनसम्म आइपुगी आतंक मच्चाउने गरेका छन्। यसले किसानहरूको मेहनत खेर जानुका साथै उनीहरू आर्थिक रूपमा गम्भीर मारमा परेको बताएका छन्। खेतीपातीमा निर्भर परिवारहरूको दैनिक जीवनयापनसमेत यसबाट प्रभावित भएको स्थानीयवासीको भनाइ छ।
बाँदरको उपद्रले बालबालिका तथा वृद्धवृद्धाको सुरक्षामा समेत जोखिम बढाएको स्थानीयले बताएका छन्। दिनदहाडै घर नजिकै आउने, आक्रामक व्यवहार देखाउने र मानिसमाथि नै झम्टिन खोज्ने घटनाहरू बढ्न थालेपछि बासिन्दा त्रसित बनेका छन्।
स्थानीयवासीले समस्या दिनप्रतिदिन जटिल बन्दै गइरहेको बताउँदै सम्बन्धित निकायले अहिलेसम्म ठोस पहल नगरेको गुनासो गरेका छन्। उनीहरूले बाँदर नियन्त्रण, सुरक्षित स्थानान्तरण वा अन्य प्रभावकारी उपाय तत्काल कार्यान्वयन नगरेमा आगामी दिनमा थप ठूलो क्षति हुने चेतावनी दिएका छन्।

















