बुटवल । ज्योतिष तथा वास्तुशास्त्रको क्षेत्रमा चर्चित नाम बनेका ज्योतिष तथा वास्तुविद् प्रेमबहादुर मल्ल ‘हाकिम सम्राट’ ले बुटवल क्षेत्रमा रहेका सरकारी तथा सार्वजनिक भवनहरूको पहिलोपटक व्यवस्थित रूपमा वास्तु परीक्षण तथा मार्गदर्शन गरेका छन्।
ज्योतिष तथा वास्तु परामर्शका लागि पुस ५ गतेदेखि ८ गतेसम्म बुटवलमा उपस्थित रहेका मल्लले सोही क्रममा देवदह नगरपालिकाका विभिन्न सार्वजनिक संरचनाहरूको अवलोकन, ऊर्जा विश्लेषण तथा सुधारका उपायहरू निःशुल्क रूपमा सुझाएका हुन्। सम्भवतः सरकारी निकायका भवनहरूमा यस किसिमको वास्तु परीक्षण नेपालमै पहिलोपटक गरिएको जनाइएको छ।

“साना–साना सुधारबाटै नगर र देश निर्माण सम्भव छ” भन्ने सोचका साथ कार्यरत मल्लले देवदह नगर अस्पतालको वास्तु निरीक्षण गर्दै भवनभित्रको ऊर्जा प्रवाह, संरचनागत प्रभाव र कार्यक्षमतामा पर्ने असरका विषयमा विस्तृत सुझाव प्रदान गरेका छन्।
यसै क्रममा देवदह नगरपालिकाअन्तर्गतको केरवानी माध्यमिक विद्यालय को संरचना, कक्षाकोठाको दिशा, प्रकाश, हावाप्रवाह तथा ऊर्जात्मक सन्तुलन अध्ययन गरी विद्यार्थीहरूको अध्ययन क्षमता वृद्धि गर्न सकिने उपायहरूबारे विद्यालय प्रशासनसँग छलफल गरिएको विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए।

त्यस्तै, देवदह नगरपालिका वडा नं. ५ को कार्यालय तथा देवदह नगरपालिकाको मुख्य भवनको पनि वास्तु निरीक्षण गरी दिशागत त्रुटि, ऊर्जा असन्तुलन र त्यसको निवारणका व्यावहारिक उपायहरू सुझाइएको वडा अध्यक्ष गणेश डुम्रेले बताए।
नगरपालिकाले मल्लद्वारा दिइएका सुझावहरूलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। उल्लेखनीय कुरा के छ भने यी सम्पूर्ण वास्तु तथा ज्योतिषीय अवलोकन र परामर्श सेवाहरू ज्योतिषी प्रेमबहादुर मल्ल ‘हाकिम सम्राट’ ले पूर्ण रूपमा निःशुल्क उपलब्ध गराएका हुन्।
सामाजिक उत्तरदायित्वप्रति गहिरो प्रतिबद्धता जनाउँदै मल्लले आगामी दिनहरूमा पनि सरकारी, शैक्षिक तथा सार्वजनिक संस्थाहरूलाई निःशुल्क वास्तु मार्गदर्शन प्रदान गर्ने कार्य निरन्तर जारी राख्ने बताएका छन्। उहाँको यो पहलले ज्योतिष र वास्तुशास्त्रलाई समाजसेवा र सार्वजनिक हितसँग जोड्ने नयाँ अभ्यासको थालनी भएको स्थानीयले बताएका छन्।


















