इटहरी l सामाजिक यथार्थ र अन्तरजातीय प्रेमको संवेदनशील कथावस्तु बोकेको नेपाली फिल्म ‘सोल्टिनी’ प्रदर्शनको संघारमा कोशी प्रदेशका प्रमुख शहरहरूमा भव्य रूपमा प्रचार–प्रसार भइरहेको छ। तिहारको अवसर पारेर टिम अहिले देशव्यापी प्रचार–यात्रामा व्यस्त छ।
यसै क्रममा लक्ष्मीपूजाको दिन (कार्तिक ३ गते) सुनसरीको इटहरीस्थित फुडशाला क्याफेमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा मुख्य कलाकार प्रकाश सपुत, नायिका परीक्षा लिम्बू, प्रोजेक्ट हेड सुजन खतिवडा र बालकलाकारहरू शुभम् अधिकारी तथा हार्दिक पौडेलको सहभागिता रहेको थियो।
कार्यक्रममा अभिनेता प्रकाश सपुतले ‘सोल्टिनी’लाई पूर्वेली समाजको सांस्कृतिक एवं जातीय विविधता, स्थानीय परिवेश र वास्तविक जीवनशैलीलाई मौलिक रूपमा प्रस्तुत गरिएको फिल्मका रूपमा व्याख्या गरे। उनले यसमा मुख्य भूमिका निर्वाह गर्न पाउनु खुशी र गर्वको विषय भएको बताए।
त्यसैगरी, नायिका परीक्षा लिम्बूले कथावस्तु निकै बलियो र जीवन नजिक भएकाले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरिन्। उनले स्क्रिप्ट पढ्नेबित्तिकै यसमा काम गर्नुपर्छ भन्ने अनुभूति भएको बताइन्।
प्रचार–यात्राअन्तर्गत टोलीले कार्तिक २ गते झापाको दमकमा देउसी–भैलो तथा सांगीतिक कार्यक्रम गरेको थियो भने ३ गते बिहान इटहरीमा पत्रकार भेटघाट र साँझ धरानमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको हो। कोशी प्रदेशको तालिका पूरा गरेपछि टोली हाल पोखरातर्फ प्रस्थान गरेको छ।
‘सोल्टिनी’लाई अर्जुन सुवेदीले निर्देशन गरेका छन्। कथा सुवेदी र कुमार भट्टराईले सहलेखन गरेका हुन्। फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बूसँगै सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा र कविता आलेको अभिनय रहेको छ।
फिल्मका निर्माता रेजिना विष्ट र संसार चौलागाईं हुन् भने रोशन चौलागाईं, वसन्त कटवाल र सुजन अधिकारी सह–निर्माताका रूपमा छन्। प्लानेट थ्री फिल्म र योलो इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘सोल्टिनी’ले सामाजिक विभेद र अन्तरजातीय प्रेममा देखिने संघर्षलाई पर्दामा प्रभावपूर्ण रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

















