रामधुनी । सामाजिक सन्देश र मनोरञ्जनको सन्तुलन बोकेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘लडाई पहिचानको’ ले आफ्नो दोस्रो गीत ‘बैशालु जोवन भइगो ढलमल’ सार्वजनिक गरेसँगै दर्शकमाझ चर्चा तातिएको छ।
आकर्षक शब्द, मधुर स्वर र मन छुने संगीतले भरिएको यस गीतमा प्रताप दास र बबिना किराँतीको स्वरले जादु भरिदिएका छन्। गीतका शब्द र संगीत भिम बस्नेतले तयार पारेका हुन्।
गीतको भिडियोमा करिष्मा मानन्धर, धिरेन शाक्य र रोशन शर्माको दमदार र रोमान्टिक अभिनयले दर्शकको मन जितिरहेको छ। उत्कृष्ट छायांकन, रंग संयोजन र भावनात्मक प्रस्तुतिले भिडियोमा फरक आकर्षण थपेको छ।
भिम लामाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘लडाई पहिचानको’ आगामी मङ्सिर ५ गतेदेखि अलनेपाल प्रदर्शनमा आउँदैछ। सामाजिक पहिचान, संघर्ष र आत्म–स्वाभिमानको कथा बोकेको यो चलचित्रले नेपाली समाजको विविधता र भावनालाई कलात्मक रूपमा चित्रण गर्ने प्रयास गरेको छ।
चलचित्रमा प्रशान्त तामाङ, करिष्मा मानन्धर, धिरेन शाक्य, जेनी घिसिङ, रोशन शर्मा, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पण्डित, किशोर सम्बाहाम्फे, सुवास तामाङ, पर्शुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिष्ट र दिनेश कोइराला लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिनेछ।
निर्माण पक्षमा भिम लामा, रामजी बिष्ट, दिलु सुब्बा र उमेश तामाङ छन्। कथा र स्क्रिनप्ले भिम लामा, सरोज केसी र रमेश डी। कौशिकले लेखेका हुन्। सिनेमाटोग्राफी मदान कास्यप घिमिरे, सम्पादन रमेश डी। कौशिक, एक्सन देवकुमार महर्जन, र कोरियोग्राफी मणीकुमार लिम्बू र सानुराजा थेगिमको रहेको छ।


















