काठमाडौँ : देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा रु दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेका छन् । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।
असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो । असोजमा रु तीन अर्ब आठ करोड १२ लाख ४१ हजार चार सय ८१ बराबरको राजश्व सङ्कलन भएको थियो । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चाड पर्वलगायतका कारणले गत असोजको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा कमी आएको हो ।
विभागका अनुसार, काठमाडौँ उपत्यकाभित्रका नौ वटा मालपोत कार्यालयहरुमध्ये सबैभन्दा बढी भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलले रु २४ करोड ५७ लाख ५४ हजार आठ सय ५८ बराबर राजस्व सङ्कलन गरेको छ ।
मुलुकभर एक सय ३३ मालपोत कार्यालय छन् । ती कार्यालयले रु १७ करोड ७८ लाख ३८ हजार चार सय ६६ बराबरको सेवा कर उठाएको छ । यस्तै, रजिष्ट्रेशन शुल्क रु एक अर्ब ८२ करोड ९५ लाख ३० हजार एक सय ३१, पूँजीगत लाभकर रु ९३ करोड ७७ लाख ९१ हजार आठ सय २० सङ्कलन गरेको छ ।
विभागका अनुसार गत साउनमा रु तीन अर्ब ८३ करोड ५० लाख ८२ हजार आठ सय ८५, भदौमा रु तीन अर्ब नौ करोड दुई लाख ५९ हजार एक सय ५२ बराबरको राजस्व सङ्कलन भएको थियो ।


















